वडाले ‘सीप’ सिकाएकाहरु

नेपालगञ्ज – सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । नेपालगञ्जका आधा दर्जन अल्पसंख्यक समुदायका किशोरी-युवतीमा यस्तै परिवर्तन आएको छ । नेपालगञ्जको वडा नं. १३ को कार्यालयले दिएको सिलाई कटाई तालिमले ती किशोरी-युवतीमा राम्रै परिवर्तन ल्याएको हो ।
वडा कार्यालयले दिएको तीन महिने सिलाई कटाई तालिमपछि ती किशोरीको दैनिकी मात्रै फेरिएको छैन, आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् ।
बुलबुलियाकी पूजा केवट विहानदेखि रातीसम्म कपडा सिलाउन व्यस्त हुन्छिन् । घरमै खोलिएको टेलरिङमा वित्छ, पूजाको दैनिकी । पूजाले कपडा सिलाएर दिनको आठ-नौ सय कमाउँछिन् । पूजा र आरती केवट मिलेर टेलरिङ पसल खोलेका छन् ।
‘मैले कपडा काट्छु, आरतीले सिलाउँछिन् । मैले पनि सिलाउँछु, पूजाले भन्नुभयो, हामीले दुई वर्षदेखि सिलाई गरिरहेका छौं । राम्रै कमाई हुन्छ । हामीलाई फुर्सद नै हुँदैन ।’
बुलबुलियामा केवट युवतीले टेलर चलाएको उनीहरुमात्रै हो । उनीहरुले ६० हजार ऋण लिएर टेलरको शुरुवात गरेका थिए । त्यो ऋण तिरिसकेका छन् । दुवै जनाले दैनिक सय-सय रुपैया जम्मा गर्छन् ।
चाडबाडको बेलामा अझ भ्याइ नभ्याई हुन्छ । पूजा भन्नुहुन्छ, ‘गएको इदमा दुई दिनमा १५ वटा सुट सिलाएको थियौ ।’ उनीहरुले एउटा सुट सिलाएको दुई सय पचास रुपैया लिने गर्दछन् ।
दश कक्षा पढेकी पूजा आफ्नै खुट्टामा उभिन सक्ने भएकी छन् । आफ्नो खर्चका लागि मात्रै होइन, जिउनकै लागि अब उनलाई अरुको भर पर्न नपर्ने भएको छ ।
वडा कार्यालयले दिएको तीन महिने तालिमले लोनियनपुरकी आरती विर्जवासीको जीवनमा पनि परिवर्तन ल्याएको छ । लालापुर चोकमा किराना पसलसँगै टेलर राखेकी आरतीले दैनिक चार-पाँच सय कमाइरहेको बताउनुभयो । ‘विहान घरको काम भ्याएर पसलमा आउँछु । दिनभरी कपडा सिलाउँछु, साँझ ५ बजे घर जान्छु, आरतीले भन्नुभयो, सिलाईबाट घर खर्च चलाउन सहयोग मिलेको छ ।’
शुरुमा आरती र सिल्का विर्जवासी मिलेर टेलर खोलेका थिए । सिल्काले पनि वडाले दिएको तालिम लिएकी थिइन् । पछि उनीहरु छुट्टा छुट्टै काम गर्न थाले ।


लोनियनपुरकी रञ्जु विर्जवासी, पार्वती विर्जवासीले पनि सिलाई कटाई तालिम लिएका छन् । उनीहरुले आफ्नै घरमा कपडा सिलाउँछन् । रञ्जु भन्नुहुन्छ, दैनिक चार-पाँच जोडा कुर्ता सुरुवात सिलाउँछु ।’
वडा कार्यालयले लक्षित वर्गको कार्यक्रमअन्तर्गत तीन महिने तालिम दिएको थियो । त्यही तालिमबाट यी किशोरी-युवतीले आफ्नो जीवन परिवर्तन गरेका छन् । स्वरोजगार भएका छन् । वडा सदस्य ओमप्रकाश चौहानले अल्पसंख्यक समुदायका किशोरी-युवतीलाई वडा कार्यालयले तालिम दिएर स्वरोजगारको बाटो देखाइदिएको बताउनुभयो । ‘वडा कार्यालयले बाटो देखाइदियो । उनीहरु त्यही बाटोमा हिडे, वडा सदस्य चौहानले भन्नुभयो, अब आफ्नै खुट्टामा उभिने भएका छन् । घर व्यवहार चलाउन सक्ने भएका छन् ।’
वडा कार्यालयमा लक्षित वर्गका लागि धेरै कार्यक्रम हुन्छन् । यी किशोरी-युवतीले शुरुवातमा वडा कार्यालयबाट तालिम लिएर पछि अरु संघ संस्थाबाट पनि तालिम लिएका छन् । पूजा केवट र रञ्जु विर्जवासीले सिटिइभीटीबाट मान्यता प्राप्त प्रमाणपत्र पाएका छन् ।
गतवर्षको कोरोना महामारी अगाडि दिइएको तालिममा टच नेपालले सहजीकरण गरेको थियो । टच नेपालका अध्यक्ष पूर्णप्रकाश डाँगीले दुई लाख रुपैयाको लागतमा गरिएको सिलाई कटाई तालिमबाट धेरै किशोरी-युवती लाभान्वित भएको बताउनुभयो ।
वडाले सिलाई कटाईसँगै कडाई तालिम दिइरहेको छ । महिलालाई पापड बनाउने तालिम दिएको छ । अपाङ्ता भएकालाई बाख्रा वितरण गरेको छ । बालबालिका र महिलालाई भ्रमण गराएको छ । जेष्ठ नागरिकलाई आँखा शिविर, टोल विकास समिति गठन र तालिम, सरसफाई, खेलकुदमा वडा कार्यालयले सहयोग गरिरहेको वडा सचिव मदनबहादुर रावतले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !