कोरेक्ससहित तीन पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा डेढ महिनादेखि निषेधाज्ञा लगाइएको छ । आवश्यक काममा मात्रै घर बाहिर निस्किन भनिएको छ । चोकचोकमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैथान छन् ।
एकथरी भने यही बेलामा अवैध कारोबार तल्लिन देखिन्छन् । लागु औषधीका कारोबारी यहीबेलामा सल्बल्याएका छन् ।
भारतबाट लागु औषधी ल्याएर बेच्ने गरेको पाइएको छ । बाँके प्रहरीले नाका छेउमा पर्ने नेपालगञ्ज–१४, बाबुगाउँबाट एक सय ७ सीसी कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले डुडुडा गाउँपालिका वडा नं. ६ बस्ने सराफत अलि शेष र अशोककुमार यादव, वडा नं. १ का देवीप्रसाद बनियालाई नियन्त्रणमा लिएको छ ।
साइकलमा रहेका शेष र यादवको साथमा रहेको जुटको बोराभित्र कोरेक्स फेला पारिएको थियो । प्रहरीले सो कार्यमा बनिया संलग्न रहेको बताएको छ ।
निषेधाज्ञाले गर्दा नाकामा कडाई गरिएको छ । आवश्यक कामका लागि मात्रै भारत जान दिने गरिएको छ । कारोबारीले कुनै न कुनै बहानामा लागु औषधी भित्र्याएको घटनाले देखाएको छ ।
यसैबीच, बाँके प्रहरीले लागु औषधीका फरार अभियुक्त दीपक थापालाई पक्राउ गरेको छ । २०७७ माघ २ गते अदालतले थापालाई एक महिना ४ दिन कैद तोकेको थियो ।
बाँके प्रहरीले चालु आर्थिक वर्षमा ५ सय ८४ जना फरार अभियुक्त पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !