भेरी अस्पताल घटना : आक्रमणकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दा

नेपालगञ्ज – डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए ।
बाँके प्रहरीले तिनै जनालाई राती नै नियन्त्रणमा लिएको थियो । प्रहरीले शुक्रबार तिनै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो । आक्रमणकारीले विरामीलाई ल्याएदेखि नै मुख्यमन्त्रीको पावरको कुरा गर्दै डाक्टर र नर्सलाई धम्क्याउने गरेको उपचारमा संलग्न डाक्टर चन्द्रप्रकाश साहुले बताउनुभयो ।
कोरोना संक्रमित विरामीको मृत्यु भएपछि रावतत्रयले डिउटीमा रहेका डाक्टर र नर्सको घाटी अठ्याउनुका साथै लखेटी लखेटी हातपात गरेका थिए । डाक्टर र नर्स झ्यालबाट हाम फालेर भागेका थिए ।
घटनापछि भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राती सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरे काम थालेको छ ।
आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने प्रतिवेदन पछि आन्दोलन रोकिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !