एमालेको बिग्रहः बिकृत राजनीतिको बीभत्स स्वरुप

आपसी ठाकठुक, भनाभन र व्यंग्य हानाहान बीच पनि कायम रहेको नेकपा अन्ततः अदालती फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रमा फर्किनु पर्याे । यद्यपि नेकपा एमाले र माओवादी केन्द्रका दुई शीर्ष नेता पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीमाझ बनेको आपसी समझदारी दुबै पक्षद्वारा अक्षरसः कार्यान्वयन हुने कुरामा निष्पक्ष भए र सोच्ने कसैलाई पनि सुपाच्य भने थिएन । तर दुबैतिरका ईमानदार कार्यकर्ताहरुमा भने शंका र चिन्ता देखिन्थ्यो । किनभने कुनैपनि सामाजिक वा राजनीतिक दल वा संगठन निर्माणको चरण ज्यादै नै कष्टकर अनि पीडादायक हुने गर्छ । जसको हेक्का लगभग सबै राष्ट्रिय दलका नेताहरुमा नहुने कुरै भएन । त्यसमाथि पनि आजको आर्थिक र सामाजिक बनौट भित्र दल प्रति निष्ठावान, चरित्रवान र दलको काममा लागि पर्ने ब्यक्तिहरुको ज्यादै अभाव रहेको कुरा हामी सबैले देख्दै आएका छौँ ।
आधुनिक र एैयासी जीवनशैलीमा अभ्यस्त पुरानो पुस्ता (प्रथम, द्वितीय र तृतीय तहसम्म) र तिनकै पछि पछि लाग्ने नेतृत्व र तिनकै पछि लाग्ने तिनकै अनुयायीहरुको समेत रहनसहन, खानपान र उठबसलाई मात्रै पनि आधार मान्ने हो भने यो नयाँ पुस्तामा समेत न त काम गर्ने जोस र जाँगर छ । न त कामप्रति प्रतिबद्धता माया र ममता छ । यो परिस्थितिमा नेकपा एमालेबाट मानो बाट्न अग्रसर हुनु भएका बरिष्ट नेता माधबकुमार नेपाल, झलनाथ खनाल र दोस्रोदर्जाका नेताहरु क्रमशः भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र घनश्याम भुसाल आदिले के आधारमा ? कस्तो राष्ट्रिय दल ? र कसका लागि ? र कसरी पुनः नयाँ राष्ट्रिय दल निर्माण गर्नुहुन्छ समयले बताउला ।
कुनै पनि ब्यक्तिको ब्यक्तित्व निर्माणका लागि झण्डै एक वा दुई दसक लाग्नेगर्छ । (नाटकिय घटना बाहेक) तर आज बिश्व राजनीति बदलिदो छ र यो परिबर्तित राष्ट्रिय र बिश्व राजनीतिले कतिबेला कसलाई कुन किनारमा पु¥याउने हो भन्न गाह्रो छ ।
आज देशको हरेक क्षेत्र सामाजिक, आर्थिक, धार्मिक तथा राजनीतिक लगभग आदर्शशून्य र ध्वस्त प्राय छ । हरेक दलभित्र दलीय अनुशासन, दलीय आदर्श अनि आपसी सद्भाव र मर्यादा हराउँदै गएको देखिन्छ । के नेपाली काँग्रेस, के राजपा, के राप्रपा सबैको हालत समान छ । यतिबेला सडकमा छताछुल्ल भएको नेकपाभित्रको जात्रा अनि बिग्रहको तयारी पनि त्यसैको परिणाम बाहेक अरु केही पनि हैन भन्ने मेरो बुझाई हो । किनभने राष्ट्रिय दलहरुमा ब्याप्त पैसा, पद मोह, अनुशासनहीनता र यसले जन्माएको अराजकताबाट देशको हरेक तप्काका मान्छेहरु निराशा र असुरक्षाबाट आक्रान्त र छन् ।
यी र यस्तै तरल राजनीतिक अबसरको खोजीमा रहेका शक्तिशाली राष्ट्रहरुले कुनै पनि देशमा आफ्नो स्वार्थ अनुकुलको शासन पद्धति र सरकार सञ्चालन गर्ने प्रयत्नमा निरन्तर लागि परेकै हुन्छन् । यस्तै प्रबृत्तिको सिकार नेपाली नेता र राष्ट्रिय दलहरु हँुुदै आएको परिप्रेक्षलाई देश र देशवासीले समयमा बुझ्न आबश्यक छ । देशका अधिकांस राजनीतिक दल, बुद्धिजीवी, प्राज्ञ र कर्मचारी संगठनमा समेत बिदेशीहरुको दरो पकड रहेको कुरा पुष्टि भैसकेको छ । बिदेशी शक्तिले कुनै पनि देशमा आफ्नो प्रभुत्व स्थापित गर्न सबैभन्दा पहिले त्यस देशको धर्म, शिक्षा र सामाजिक जीबनमाथि प्रहार गर्ने गरेको देखिन्छ । जसको प्रत्यक्ष मारमा अफ्रिका, अरब र एसियाली देशहरु छन् । उनीहरुले सुस्त सुस्त देशमा स्थापित संस्थाहरु, परम्परा, मूल्य र मान्यताहरुबाट ब्यक्तिहरुलाई भ्रष्ट, चरित्रहीन र नैतिक पतन गराउन प्रयत्न गर्ने गर्छन् । यसैको परिणाम नै नेपालको अस्थिर राजनीति राजनीति हो । यसैको उदाहरण अहिलेको नेकपा एमालेको खिचलो हो ।
धन्यवाद । नेपालगञ्ज ।


error: यो सुविधा उपलब्ध छैन !