भेरी अस्पतालमामा २५ जना प्रहरी परिचालन

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा २५ जना प्रहरी परिचालन गरिएको छ । डाक्टर र नर्समाथि पटक–पटक आक्रमण भइरहेपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी अस्पतालमा परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२५ जना प्रहरीले तल ग्राउण्डदेखि आइसीयू बेडसम्मको सुरक्षा गर्ने व्यवस्था मिलाएका छौं ।’
दाङका कोरोना संक्रमित डिल्ली रावतको मृत्युपछि उनका आफन्तले डिउटीमा खटिएका डाक्टर र नर्सलाई लखेटी लखेटी घाटी थिचे पछि अस्पतालको सुरक्षाप्रति औला उठाइएको छ । भेरीमा डाक्टर र नर्समाथि आक्रमण भएको यो पहिलो घटना भने होइन । दोस्रो लहरको कोरोना कहरका बीचमा आधा दर्जन पटक डाक्टर र नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा हवल्दारको कमाण्डमा सधैं प्रहरी रहने गर्दछ । सानो संख्यामा रहने भएकाले त्यसले अस्पतालको सुरक्षा गर्न सक्दैन । त्योसँगै सेक्युरिटी गार्ड पनि राखिएको छ । त्यो बाहिरी घेरामै रहन्छन् । बाँके प्रहरीले तत्कालका लागि २५ जना प्रहरी खटाएको छ । अस्पतालमा सधैं यत्तिको ठूलो फौज प्रहरीको आवश्यकता नभएपनि आधा दर्जन प्रहरी सधैं राख्ने बारेमा छलफल चलेको छ । प्रमुख जिल्ला अधिकारी गेलालले सधैं २५ जना प्रहरी अस्पतालमा आवश्यकता नपर्ने भएपनि पछि समेत अलिकति सुरक्षा बढाइने बताउनुभयो ।
भेरीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विरामी आउँछन् । अस्पतालमा विरामी र कुरुवाको चाप रहने गर्दछ । पटक–पटक डाक्टर र नर्समाथि आक्रमण हुन थालेपछि कुरुवालाई पासको व्यवस्था गरिएको छ । एकजना विरामीको एकजना कुरुवामात्रै वार्डमा जान दिने तयारी गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !