भेरीमा डाक्टर र नर्स आन्दोलनमा

नेपालगञ्ज – भेरी अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालमा विहानैदेखि डाक्टर र नर्सले नाराबाजी गरेका छन् । ‘अस्पतालमा राजनीति चल्दैन, हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही गर, दोषीलाई लुकाउन पाइदैन, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइदैन, ज्यान मार्ने मुद्दा हाल्नै पर्छ’ जस्ता नारा लगाइएको छ ।
दश दिनदेखि भेरीमा उपचारमा रहेका दाङका डिल्ली रावतको गएराती मृत्यु भएपछि उनका भाईछोरा मानबहादुर रावत, भरतबहादुर र लोकराजले डिउटीमा रहेका डाक्टर र नर्सलाई हातपात गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु र आश्विनी गुरुङले विरामीको मृत्यु भएपछि आफन्तीहरुले आफूहरु पाँच जनालाई लखेटीलखेटी हातपात गरेको बताउनुभयो । ‘विरामीको अवस्था केही दिनदेखि नै गम्भीर थियो । एक दिनअघि उनीहरुले नै भेन्टिलेटरमा राखिनु प¥यो भनेका थिए । त्यो दिन खाली थिएन । हिजो भेन्टिलेटर खाली भएपछि हामीले भेन्टिलेटरमा राखिदियौ । त्यसको केहीबेरमा विरामीको मृत्यु भयो, डा. साहुले भन्नुभयो, ‘त्यसपछि नर्सलाई घाटी अठ्याइयो । हामीलाई लखेटी लेखटी हातपात गरियो ।’ उहाँका अनुसार, डाक्टर र नर्सहरु भागेर एउटा कोठामा पुगे । त्यहाँको पनि ढोका फोडिएपछि शौचालयमा लुके । त्यसपछि झ्यालबाट हाम फालेर तल भागे ।
डाक्टर साहु, नर्सहरु आश्विनी, सदिक्षा गैरे, रिता अधिकारी र कविता पुन डिउटीमा रहेका थिए । पाँचै जना झ्यालबाट हाम फालेर भागेका थिए ।
डिउटीमा रहेकालाई हातपात भएपछि राती नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु अस्पतालमा पुगेका थिए । लगत्तै हातपात गर्ने तीन जनालाई समातेर जिप्रका लगिएको थियो । अस्पतालमा पटक पटक यस्ता घटना भइरहेको भन्दै डाक्टर र नर्सले आन्दोलन थालेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । दोषीलाई कडा कारबाही हुने आश्वासन दिएका छन् ।
डाक्टर र नर्सहरुले दोषीलाई कारबाही र अस्पतालमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेका छन् ।
अस्पतालमा डेढ सय बढी विरामी उपचारमा रहेका छन् । डाक्टर र नर्स नै आन्दोलनमा उत्रिदा विरामीलाई असर परेको छ ।


error: यो सुविधा उपलब्ध छैन !