कोभिड जित्ने बढे
नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित हुने भन्दा जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो चौविस घण्टाको तथ्यांकले यस्तो देखाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँकेमा आइतबार ४ सय ५२ जना डिस्चार्ज भएका छन् । त्यसमा दुई सय तीन महिला र २ सय ४९ जना पुरुष रहेका छन् । आइतबार जिल्लामा कोभिडका एक सय १४ जना थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ३ सय ९० जनालाई संक्रमण पुष्टि हुँदा बाँकेका एक सय १४ जना परेका हुन् । भेर िअस्पतालमा ३ सय ६८ जनाको परीक्षण गर्दा २ सय ६५, कोहलपुर मेडिकल कलेजमा १ सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । भारतबाट आएका शंकास्पद ६६ जनालाई नेपालगञ्ज नाकामा एन्टिजेट जाँच गर्दा कसैलाई पनि कोरोना देखिएको छैन । यो नाकामा आइतबार एक हजार ६ सय ४ जनाको ज्वरो जाँच गरिएको थियो ।
अझ खुशीको कुरा त बाँकेमा पछिल्लो चौविस घण्टामा एकजनाको पनि मृत्यु भएको छैन । बाहिरी जिल्लाका आठ जनाको मृत्यु भएको थियो ।
बाँकेमा अहिले तीन सय ९४ जना अस्पताल र एक हजार पाँच सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।
केही दिनयता बाँकेमा मृत्यु र संक्रमण दर घट्दोक्रममा रहेको छ । एक महिनादेखिको निषेधाज्ञाले पनि संक्रमण फैलावटको चेन ब्रेक गरेको पाइएको छ ।