वेष्टर्न अस्पतालमा कोभिडका लागि १६ बेड
नेपालगञ्ज – वेष्टर्न हस्पिटलले कोरोना संक्रमितका लागि बेड संख्या बढाएको छ । चार बेडबाट सेवा दिइरहेको वेस्टर्नले १६ बेडको कोभिड डेलिकेटेड वार्ड सञ्चालन गरेको प्रवन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिनुभयो ।
प्रवन्ध निर्देशक थापाका अनुसार, कोभिड–१९ को महामारी फैलिदा गएपछि अस्पतालले बैशाख पहिलो सातादेखि नै ४ बेडको कोभिड वार्ड सञ्चालन गरेर संक्रमितको शल्यक्रियासहितको उपचार गर्दै आएको थियो । यो अबधिमा अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुति तथा स्त्री रोगसँग सम्बन्धित २ वटा गरी १८ जना संक्रमितलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गरिसकेको छ ।
कोभिड डेलिकेटेड बार्ड सञ्चालन भए पछि यस क्षेत्रका अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति तथा स्त्री रोगसँग सम्बन्धित संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा पाउन थप सहज हुने अस्पतालले जनाएको छ । अस्पतालको अर्थाेपेडिक र ट्रमा बिभागमा डा. बिनोद थापा, डा. किरण गुरुङ, डा. बसन्त सापकोटाले बिरामीहरुको उपचार गरिरहनु भएको छ । जनरल सर्जरी बिभागमा डा. रुपानन्द अधिकारी, डा. प्रबिन गुप्ता र डा. धु्रब शाहले उपचार सेवा दिदै आउनु भएको छ भने स्त्री तथा प्रसुतिरोगसँग सम्बन्धित बिरामीहरुलाई डा. कल्पना थापाले हेर्नुहुन्छ । एनेसथेसिया र क्रिटिकल केयर सहितको उपचार डा. निर्मल ज्ञवाली र डा. पारस पाण्डेले हेर्दै आउनु भएको छ ।
वेष्टर्न विगत १५ वर्षदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आएको ५० बेडको अस्पताल हो । नेपाल सरकारबाट सञ्चालन स्वीकृति लिई यस अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति र स्त्री रोग सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।