कोरोना कहर : थपिने भन्दा डिस्चार्ज बढी
नेपालगञ्ज – बाँकेमा बुधबार ५ सय २३ जना ‘डिस्चार्ज’ भएका छन् । दुई सय २६ महिला र दुई सय ९७ जना पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।
केही दिन यता बाँकेमा संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । बुधबार दुई वटा ल्याबबाट एक सय ७४ जना संक्रमित थप भएका छन् । कोहलपुर मेडिकल कलेजमा २ सय ५५ जनाको जाँच गर्दा ८१ र बागेश्वरी ल्याबमा १ सय ८९ जनाको जाँच गर्दा ९३ जनामा कोरोना पुष्टि भएको छ । यी दुई ल्याबमा ४ सय ४४ जनाको परीक्षण गर्दा एक सय ७४ जना संक्रमित थपिएका हुन् । यद्यपि, धेरै परीक्षण हुने भेरी अस्पतालको रिपोर्ट आइसकेको छैन । दुई वटा ल्याबको रिपोर्टले पनि पछिल्लो दिनमा परीक्षण गरिएकोमध्येमा थोरै संख्यालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमण भएको दश दिनपछि स्वतः डिस्चार्ज गर्ने भएकाले पनि दश दिनअघि जति जना संक्रमित भएका थिए, दश दिनपछि त्यति नै जना डिस्चार्ज हुने गरेका छन् । पछिल्लो केही दिनमा नयाँ संक्रमितको संख्यामा अलि कमी देखिएपनि मृतकको संख्या घटेको छैन । पछिल्लो तेह्र घण्टामै १७ जनाको मृत्यु भएको थियो ।
बाँकेमा अहिले दुई हजार दुई सय ४२ जना होम आइसोलेसनमा रहेका छन् । ४ सय ५६ जनाको अस्पतालहरुमा उपचार भइरहेको छ ।