आइसोलेसन केन्द्र सञ्चालनमा
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले बनाएको अक्सिजनसहितको आइसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० बेडको आइसोलेसन केन्द्र बनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमवहादुर राना, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहको उपस्थितिमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
नगर प्रमुख राणाले आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण समुदायस्तरमा देखिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि जिल्लाबासी सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उपप्रमुख उमा थापा मगरका अनुसार, आइसोलेसनमा बस्नेहरुलाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
विरामी ल्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा समेत दिइनेछ । उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेसन फोकल ब्यक्तिहरुको सिफारिसका आधारमा संक्रमितहरुलाई आइसोलेसनमा राखिने भएको छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आइसोलेसनका लागि कान्तिपुर पब्लिकेशनका निर्देशक स्वस्तिका सिरोहियाले ६ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेकी छन् । यसको मूल्य प्रति एकथान ८५ हजार रुपैया पर्छ । कान्तिपुर नेपालगञ्ज कार्यालयका प्रमुख अशोक श्रेष्ठले शुक्रबार नेपालगञ्जका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहयोग हस्तान्तरण गर्नुभयो ।