अस्पताल ल्याउदा ल्याउदै मृत्यु
नेपालगञ्ज – बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितसहित थप दुई जनाको मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नंं ५ का ५१ वर्षीय पुरुषको होम आइसोलेसनबाट अस्पताल लैजादा लैजादै मृत्यु भएको छ । बैशाख १२ गते पीसीआर जाँच गरेका उनलाई होम आइसोलेसनमा राखिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले होम आइसोलेसनमा बसेका पुरुषलाई अप्ठेरो भएपछि अस्पताल ल्याउदै गर्दा दिउँसो १२.३० बजे बाटोमा मृत्यु भएको जानकारी दिनुभयो ।
मेडिकल कलेज, कोहलपुरमा बर्दिया गुलरिया नगरपालिका वडा नं. १ ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरेपछि उनी कोहलपुरमा भर्ना भएका थिए । उनको दिउँसो १.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १४ जना पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुने पनि एक सय १४ जना पुगेका छन् ।
यसैबीच, शुक्रबार ५ वर्षीय बालक र ७१ वर्षीया बृद्धासहित २ सय ५ जनाले कोरोनालाई जितेका छन् । उनीहरु डिस्चार्ज भएर घर गएका छन् ।