साहसिक साइक्लिस्टको महाप्रस्थान

सतिश निरौला (खजुरा) – हिजो दिउँसो यमलालजीको मोबाइलमा फोन गरे । भाइले फोन उठाउनु भयो । उहाँको अवस्थाको जानकारी लिए, भेन्टिलेटरमा राखेर उपचार भैरहेको र धुलिखेलबाट मगाएको रेम्डिसिभर आइपुग्दै गरेको जानकारी दिनुभो । मैले स्वास्थ्य लाभको कामना गर्दै उहाँसँथ छुट्टिए ।
हिजो दिनभरि नै उहाँको स्वास्थ्यको चासो राख्दै साथीहरूको फोन आइरहेको थियो । काठमाडौ रत्न पासासँग कुरा भयो, उदयपुर गाइघाटबाट जितेन्द्र रोइलाले फोन गर्नुभयो, नेपालगञ्ज साइक्लिङ्ग क्लब सम्बद्ध साथीहरू धेरैले उहाँको स्वास्थ्यको चासो राख्नुभयो । हिजोको दिन भरि मात्र होइन राती सुदूरपश्चिमका साइक्लिस्ट भरत बिक्रम शाहसँग लामो बातचित भयो यमलालजी कै सन्दर्भमा । तर बिहानै नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाजीले फोन गरेर यमलालजी महाप्रस्थानको कुरा सुनाउनु भो, शरीर काप्यो नपत्याइ नहुने सत्य थियो । यो खबर फेरि यमलालजीको मोबाइलमा फोन लगाए, उहाँको दिदीले फोन उठाउनु भयो, उहाँसँग रोदनपूर्ण र पीडा सहितको सम्बाद मैले धेरै बेर गर्न सकिन । मेरो आँखाबाट पनि एउटा अत्यन्त निकटतम मित्र गुमाउदाका पीडा छछल्कियो मेरो पनि बोली अबरुद्ध भो । मुस्किलले दिदीलाई धैर्य धारण गर्न अनुरोध गर्दै मैले फोन काटे ।
यमलाल रसाइली लम्की कैलालीका स्थायी बासिन्दा हुनुहुन्थ्यो । सानैमा उपचार अभावले नै उहाँको एउटा खुट्टा गुमेको थियो । तर, उहाँको शाहस र दृढ इच्छा शक्तिले उहाँ एउटा अब्बल पारा साइक्लिस्टका रूपमा चिनिनु हुन्थ्यो । साइक्लिङ्ग कै कारण चेनले जोडेको सम्बन्ध थियो, यमलालजीसँग मेरो । नेपालगञ्जमा नेपालगञ्ज साइक्लिङ्ग क्लबले आयोजना गर्दै आइरहेको टुर डे ठाकुरद्वार होस् वा कोरा वा मेयर कप सबै इभेन्टमा हामीलाई उहाँको साथ मिलेको थियो ।
कैलालीदेखि रारासम्म एउटा मात्र खुट्टाबाट त्यो पनि एकल साइकल यात्रा । मेचीमहाकाली साइकल यात्रा, देशभर हुने प्राय सबै साइक्लिङ्गका मुख्य इभेन्टमा सहभागितादेखि भारतमा हुने गरेको थुप्रै इभेन्टमा समेत उहाँले सहभागिता जनाउनु भएको थियो । जहिल्यै भेट हुँदा पनि आफ्नो एउटा इच्छा उहाँले सुनाउनु हुन्थ्यो, अपाङ्गहरुको लागि माउन्टेन बाइकिङ्गको प्रशिक्षण र एउटा राष्ट्रिय स्तरको ठूलो प्रतिस्पर्धाको आयोजना । तर निष्ठुरी समय र कोरोनाको महामारीले हामी सबै साइक्लिस्टहरुका प्रिय साइक्लिस्ट यमलाल रसाइलीजीलाई समय भन्दा नै अगाडि चुडेर लग्यो । उहाँ प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।


error: यो सुविधा उपलब्ध छैन !