जाँच गरेकोमध्ये ८० प्रतिशतलाई कोरोना
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई सय ३३ जना संक्रमित थपिएका छन् ।
अस्पतालले बैशाख १३ गते लिएको स्वावको रिपोर्ट आज सार्वजनिक गरेको हो । अस्पतालका अनुसार, २ सय ८८ जनाको पीसीआर जाँच गर्दा २ सय ३३ जनामा संक्रमित भएका छन् । यो तथ्यांकबाट पोजिटिभ रेट ८०.९ प्रतिशत हुन आउँछ ।
दुई सय ३३ जनामा एक सय ३९ पुरुष र ९४ जना महिला रहेका छन् । जिल्लागत हेर्दा बाँकेका २ सय ८, बर्दियाका १३, कैलाली र दाङका दुई÷दुई र अन्य आठ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिकाका एक सय ८२ जना रहेका छन् । २० देखि ५० वर्ष उमेर समूहका एक सय ७४ अर्थात ७५ प्रतिशत रहेका छन् ।
बाँकेमा नेपालगञ्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र नेपालगञ्ज नाकामा समेत कोरोना जाँच हुन्छ । यी तीन ठाउँको रिपोर्ट आइसकेको छैन ।