नयाँ परिचयपत्र बनाउन माग

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावी मैदानमा उत्रिएका साझा लोकतान्त्रिक प्यानलले मतदाता परिचयपत्र नयाँ बनाउन माग गरेको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले पत्रकार सम्मेलन गरेर समावेशी प्यानलले आचार संहिता विपरित मतदाता परिचय पत्र लिएकाले वितरण भएका सबै मतदाता परिचयपत्र रद्द गरेर फरक रंगमा नयाँ छपाउन माग गरेको हो । साझा प्रजातान्त्रिकका उम्मेदवार छनौट समितिका संयोजक गोपाल अधिकारीले आइतबार विहानसम्म बाणिज्यमा एक हजार ३४, उद्योगमा ४८, एशोसियटमा ५६ र बस्तुगतमा १५ वटा परिचयपत्र वितरण भएको र त्यसमा धेरैजसो असम्बन्धित व्यक्तिले बुझेको बताउनुभयो ।
साझा प्रजातान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार ललित रौनियारले आफ्ना मान्छेको समेत मतदाता परिचयपत्र समावेश प्यानलका व्यक्तिले लगिदिएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको बताउनुभयो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनसम्बन्धी नियमावली, २०७६ को परिच्छेद ६ को दफा १३ विविधको ‘ढ’ मा परिचयपत्र लिन मतदाता स्वयं उपस्थित हुनुपर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमती, श्रीमान, छोरा, बुहारी, बाबु आमाको मन्जुरीनामा पेश गरी परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख गरेको छ ।
संघका अध्यक्ष नन्दलाल बैश्यले असम्बन्धित व्यक्तिले लगेको परिचयपत्र फिर्ता गर्ने आश्वासन दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !