दशकपछि अस्थायी लालपूर्जा

नेपालगञ्ज – वाटरपार्क जग्गा एकीकरण आयोजनामा समेटिएका जग्गा धनीले अस्थायी लालपूर्जा पाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आइतबार अस्थायी लालपूर्जा वितरण गरिएको हो ।
दशक अघिदेखि सर्वसाधारणको जग्गा अधिग्रहण गरेर आयोजनाले काम गरिरहेको छ । आयोजनाले ७ सय बढी जग्गाधनीको लालपूर्जा लिएको थियो । त्यसमध्येमा पहिलो चरणमा एक सय ८७ जनाबाट अस्थायी लालपूर्जा वितरणको शुरुवात गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, कार्यकारी अधिकृत हरि प्याकुरेलले आयोजनाका जग्गाधनीलाई अस्थायी लालपूर्जा वितरण गर्नुभयो । मेयर राणाले अब वाटरपार्कको काम छिटो सकिने बताउनुभयो ।
आयोजनाले २०६४ देखि जग्गा अधिग्रहण थालेको थियो । त्यसमा ६५ विगाहमा समेटिएको छ । २१, १८, ११, ९, ६ मिटरका व्यवस्थित बाटो निकालिएको छ । आयोजनाले बाटो, विजुली, ढल, पानीसहितको व्यवस्थित बस्ती निर्माण गर्दैछ । जग्गा अतिग्रहण गरेर घडेरीको रुपमा विकास गरिएको छ ।
आयोजनालाई जग्गा दिएका स्थानीयको जग्गा घटेर आएको छ । बाटोको चौडाई अनुसार जग्गाधनीले योगदान गर्नुपर्ने नियम बनेको छ । नौ मिटरको बाटो बनेको छ भने जग्गा धनीले ३३ प्रतिशत योगदान गर्नुपर्नेछ । २१ मिटरको बाटो बनेको छ भने जग्गा धनीले ६५ प्रतिशत योगदान दिनु पर्छ ।
अस्थायी लालपूर्जा वितरण गर्दै उपमेयर थापाले धेरै जग्गा धनी सम्पर्कमा नआएको बताउनुभयो । लालपूर्जा नहुँदा स्थानीयले बिक्री, धितो राखेर ऋण लिन पाएका थिएनन् ।


error: यो सुविधा उपलब्ध छैन !