पालिकाहरुले किन बनाएनन्, आइसोलेसन केन्द्र ?

फाइल फोटो

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित बढिरहेका छन् । भारतबाट आएका व्यक्तिसँगै जिल्लामा पनि कोरोनाका विरामी बढेका छन् ।
भारतबाट आएका र जिल्लामै लक्षण चिन्हसहितका व्यक्तिमा कोरोना पुष्टि भइरहदा भेरी अस्पताल, नेपालगञ्जले मात्रै धान्न नसक्ने अवस्था आउन थालेको छ । भेरीमा १ सय ४२ बेड रहेको छ । अहिले त्यहाँ ३४ जना छन् । ७३ जना होम आइसोलेसनमा रहेका छन् ।
भारतबाट आएकाहरु कोरोना पुष्टि हुँदै भेरीमा पुग्ने र यहीका बासिन्दामा कोरोना बढ्दै गएपछि राख्ने चिन्ता बढ्न थालेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बताउनुभयो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले एक महिनाअघि नै सबै पालिकाहरुलाई क्वारेन्टाइन र आइसोलेसनमा तयारी अवस्थामा राख्न अनुरोध गरेको थियो । अहिलेसम्म कुनै पनि पालिकाले क्वारेन्टाइन र आइसोलेसनमा तयार गरेको जानकारी दिएका छैनन् ।
‘नाकाबाट आएकालाई सिधैं जिल्लामा पठाउदा कोरोना बोकेर पठायो भन्ने आरोप लाग्छ । उनीहरुलाई भेरीमै राख्नु प¥यो, जिल्लामा पनि दैनिक दुई दर्जन आसपासमा कोरोना संक्रमित थपिएका छन्, उनीहरुलाई पनि भेरीमै राखिएको छ, फोकलपर्सन वलीले भन्नुभयो, यही रेसियोमा बढ्यो भने केही दिनमै भेरी अस्पताल भरिन्छ । त्यसपछि कहाँ राख्ने ?’ फोकलपर्सन वलीले पालिकाहरुलाई छिटो भन्दा छिटो क्वारेन्टाइन र आइसोलेसन बनाउन आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !