एन्फा प्रेसिडेन्ट लिग : सुदूरपश्चिम प्रथम
नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन भएको एन्फा प्रेसिडेडन्ट लिग फुटबल प्रतियोगितामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लव, कैलाली प्रथम भएको छ ।
सुदूरपश्चिमको लिग च्याम्पियन स्टार सिटीले अपराजित भएर एन्फा प्रेसिडेन्ट लिगको उपाधी जितेको हो । एक खेल अगाडि नै लिग च्याम्पियन भएको स्टार सिटीले आइतबार भएको अन्तिम खेलमा पनि जीत निकालेको छ । स्टार सिटीले अन्तिम खेलमा गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लव, लमजुङलाई ३–२ गोलले पराजित गरेको हो ।
बागमति प्रदेशको धादिङ समाज, धादिङसँग अन्तिम समयमा गोल गरेर हारबाट जोगिएको स्टार सिटीले अपराजित यात्रा कायमै राख्यो । उसले प्रतियोगितामा १६ अंक जोड्यो ।
लुम्बिनी प्रदेशको लिग च्याम्पियन नेपालगञ्जको धम्बोझी क्लव, दोस्रो भएको छ । धम्बोझीले चार खेलमा जीत निकाल्यो भने दुईमा पराजय व्यहो¥यो । चार खेल जितेको धम्बोझी १२ अंक जोड्दै लिगमा दोस्रो भयो ।
लिगमा २ नम्बर प्रदेशको लिग च्याम्पियन मनकामना युवा क्लव, रौतहट तेस्रो भएको छ । आइतबार भएको अन्तिम खेलमा १ नम्बर प्रदेशको लिग च्याम्पियन सैनिक फुटबल क्लव, झापालाई २–१ गोलले पराजित गरेपछि रौतहट तेस्रो भएको छ । रौतहटले तीन जीत निकालेर नौ अंक जोडेको थियो । गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लव, लमजुङको समान नौ अंक भएपनि हेड टु हेडका आधारमा रौतहट तेस्रो भयो भने लमजुङ चौथो भयो ।
एन्फा प्रेसिडेन्ट लिगमा शीर्ष चारभित्र पर्ने टोलीले शहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने छन् । सात वटा प्रदेशका लिग च्याम्पियनले भाग लिएको खेलमा १ नम्बर प्रदेशले सात अंक, बागमतिले ६ अंक र कर्णाली प्रदेश एक अंक जोडेर पुच्छरमा परे ।
प्रतियोगिताको विजेता सुदूरपश्चिमको स्टार सिटीले दश लाख र उपविजेता लुम्बिनीको धम्बोझी क्लवले ५ लाख रुपैया पाएका छन् । विजेतालाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे ।