बाजुरामा एक दिन

क्रमशः
म रामजानकीमै पढाइरहेको थिएँ, बाजुराको एउटा स्कुलमा बीएस्सी शिक्षक चाहिएको सूचना आयो । बाजुराका तत्कालीन सांसद देवराज जोशी शिक्षक खोज्दै कोहलपुर आएका रहेछन् । ठूलो दाइ यामबहादुर क्षत्रीसँग भेट भएछ । विद्यालय मावि तह बनाउनका लागि पनि बीएस्सी उत्तीर्ण शिक्षक चाहिएको रहेछ । तलबभत्ता र सुविधा राम्रै थियो । मासिक ७ हजार तलब, दुर्गम भत्ता र खानेबस्ने सुविधा दिने उनले बताए । जोशीका कुरा सुनेपछि दाइले मतिर हेरेर भन्नुभयो, ‘सरकारी स्कुलमा जाँदा राम्रो पनि हुन्छ ।’
सरकारी जागिरको महत्व मैले कोलकातामै बुझेको थिएँ । कम्तीमा ढुक्क भइन्छ । मैले कोहलपुरको निजी स्कुलभन्दा बाजुरा नै भए पनि सरकारीमा जाँदा भविष्य बन्ने सोचेँ । त्यसैले जाने निर्णय गरेँ । बाजुरा जान भोलिपल्टै हामी राँझा विमानस्थल पुग्यौँ । टिममा बाजुराका सरहरू थिए । मैले पहिलोपल्ट
ट्वीनेटर जहाज चढेको पनि त्यतिबेलै हो । बङ्गालमा हुँदा जेट विमान चढेको थिएँ, नेपालमा ट्वीनेटर ।
झन्डै २५ मिनेटको उडानपछि हामी अछामको साँफेबगर पुग्यौँ । बाजुरा पुग्न त्यहाँबाट पैदल हिँड्नुपथ्र्याे । सेती नदीको किनारैकिनार उकालो लाग्यौँ । म बाजुरेली सरहरूको पछि लागेँ । डर लाग्दा भीरखण्डको यात्रा मेरा लागि नौलो मात्र होइन, कहालीलाग्दो थियो । कष्टकर यात्राले जागिरको लोभमा म अपहरणमा परेझैँ महसुस हुन थालेको थियो ।
पहाड चढ्ने अनुभव पनि थिएन । बाल्यकालमा समुद्र किनारतिर दगुरियो बरू, पहाड देखिएन । पुख्र्यौली घर पर्वत पहाड नै हो । तर, सानो छँदै एकाधपटक बाहेक गइएन । अछाम र बाजुरा पर्वतभन्दा धेरै फरक लाग्यो ।
पर्वतका पहाडमा हरियालीले ढाकेको देखिन्थ्यो । यता डाँडापाखा उजाड देखिन्थे । उकालो, ओरालो डाँडापाखा गर्दै रातमा हामी गन्तव्यमा पुग्याँै । मलाई बाजुरा कहाँ हो कहाँ अँध्यारो लागिरहेको थियो । कोहलपुरमा त बिजुलीसम्म थियो, बाजुरामा त्यो पनि थिएन । कोलकाताबाट कोहलपुर हुँदै ६ महिनामै
बाजुराको अँध्यारोमा पुगेको थिएँ । थाकेर लखतरान थिएँ । सरहरूले केहीबेरमै कोदोको रोटी र रातो मार्सी चामलको भात खुवाए । थकाइ र भोकमा प्राण भर्ने ती परिकार अझै पनि मलाई सम्झना छ ।
बीएस्सी सर आएको खबरले स्कुलका प्रधानाध्यापक र व्यवस्थापन समिति खुसी थिए । म पुगेकै राती उनीहरू मलाई भेट्न आए । उनीहरूसँगै तत्कालीन सांसद देवराज जोशीसमेत आएका थिए । चिनजान र कुराकानीपछि भोलिदेखि नै स्कुल हाजिर हुने सल्लाह भयो । तर, रातभर निदाउन सकिनँ ।
मनमा एक खालको उकुसमुकुस चलिरहेको थियो । बाजुरा बसेर मेरो भविष्य उज्ज्वल होला ? म दोधारमा परेको थिएँ । अर्को दिन स्कुल गएँ । त्यो दिन शनिबार थियो । ढुङ्गाले छाएको स्कुल राम्रै थियो । एकदमै गाउँले परिवेश । कतैकै मलाई यहाँ बस्दा म आफूले यस समाजसँग बेमाइनी गर्छु जस्तो लाग्यो । कक्षा सुरु गरेर कोर्स नसकिँदै छोड्नुभन्दा नियुक्त नहुँदै छोड्नु उपयुक्त लाग्यो । त्यति दुःख गरेर खोजेर ल्याएको शिक्षकले छोड्छु भन्दा पक्कै नराम्रो लाग्ला । तर, बीचमा छोड्दा झन् धोका हुन्थ्यो ।
त्यसैले मैले प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई भेटेर भनिदिए, ‘म त यहाँ बस्न सक्दिनँ होला । कृपया मलाई माफ गर्नुहोला ।’
आएको एक दिनमै फर्किने कुरा गरेको सुनेर उनीहरू चकित परे । उनीहरूले बरू सेवासुविधा बढाउँछौँ, नफर्किनूस् भने । निमाविलाई मावि बनाउन पनि बीएस्सी शिक्षक चाहिएको थियो । त्यसैले केही दिन पढाए मन फर्किन्थ्यो कि भनेर धेरै कर गरे । तर, म निर्णयबाट फर्किनेवाला थिइनँ । उनीहरूले दिएको फर्किने भाडासमेत नलिएर म दोस्रो दिनै फर्किएँ ।
फर्किन जाँदाजस्तो कठिन थिएन । ओरालै–ओरालो थियो । साँफेबगर आइपुग्दा त्यो दिन टिकट पाइएन । नेपाल वायु सेवा निगमका स्टेसन म्यानेजरसँग अनुरोध गरेँ । उनले अर्को दिन जहाज आउनासाथ उडाए ।
त्यतिबेला नेपालगन्ज–साँफेबगर भाडा ५ सय ५० थियो । पढाउन बाजुरा पुगेको मान्छे दुई दिनमै घर फर्केको देखेर सबै छक्क परे । दाइ रिसाए । आमाले सोधीखोजी गर्नुभयो । सबै कथाव्यथापछि मात्र आमाले ‘ठीकै छ त’ भन्नुभयो ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !