किशोरीलाई दौतरी शिक्षा
बर्दिया – बर्दियाको राजापुर नगरपालिकाका किशोरीलाई दुई दिने दौतरी शिक्षासम्बन्धी अनुशिक्षण दिइएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बाल तथा जबरजस्ती विवाह परियोजनाअन्तर्गत राजापुरका किशोरीलाई उक्त अनुशिक्षण दिइएको हो ।
सिओसी समूहमा आवद्ध नभएका किशोरीहरुलाई दौतरीमार्फत शिक्षा दिने उद्देश्यले दुई दिने अनुशिक्षण गरिएको कार्यक्रम संयोजक दिनेशकुमार चौधरीले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको अनुशिक्षणमा पहिलो दिन बाल हिंसा, बालविवाह, यौन प्रजनन स्वास्थ्य अधिकार, लैंगिक हिंसा, बाल अधिकाका बिषयमा सैद्धान्तिक बिषयमा अनुशिक्षण गरिएको थियो । दोस्रो दिन दौतरी सिप सम्बन्धी व्यवहारिक अभ्यासमार्फत अनुशिक्षण गरिएको थियो ।
राजापुर नगरपालिकाको वडा नं. ६, टपरामा सञ्चालन भएको दुई दिने दौतरी शिक्षा अनुशिक्षणमा परिवर्तनका संवाहक (सिओसी) समूहमा आवद्ध भएका वडा नं ६ र वडा नं ८ का २५ जना किशोरी हरु सहभागी भएका थिए । अनुशिक्षणको सहजिकरण निर्मल चौधरीले गर्नु भएको थियो ।