कोरोना कहरमा रातदिन खटेका श्रेष्ठ

नेपालगञ्ज – बैशाख १८ गते । नेपालगञ्जको फूलबारी मस्जिदमा पीसीआर जाँचका लागि स्वाव संकलन हुँदै थियो । एकजना बृद्ध पछाडी पीसीआर जाँच नगर्ने भन्दै बसिरहेका थिए । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन (हाल बर्दिया सरुवा) नरेश श्रेष्ठले ‘तपाईले पनि स्वाव दिनुस्’ भनेर स्वाव दिन लगाउनुभयो ।
त्यो दिन ६५ जनाको स्वाव परीक्षण गरिएकोमा त्यही ‘कर’ गरेर परीक्षण गर्न लगाइएका व्यक्तिलाई कोरोना पुष्टि भयो । यो बैशाख १९ गते शुक्रबारको दिन थियो । स्वास्थ्य अधिकृत एवं कोरोनाका फोकलपर्सन श्रेष्ठ सम्झिनुहुन्छ, ‘कोरोना पुष्टि हुने बित्तिकै चौतर्फी डरको वातावरण बन्यो । नेपालगञ्जमा हल्लीखल्ली नै भयो ।’
नेपालगञ्ज वडा नं. ५ मा घर भएका ६० वर्षका मोहम्मद हुसैनलाई कोरोना पुष्टि भएको थियो । घर ५ नम्बरमा भएपनि हुसैन वडा नं. ८, जोलहनपुरुवामा बस्नुहुन्थ्यो । त्यहीको मस्जिदमा बसेर वरिपरिका बच्चालाई ट्यूसन पढाउनु हुन्थ्यो ।
कोरोना पुष्टि भएपछि हुसैनलाई आइसोलेसन सेन्टरमा लैजान सकस नै भयो । फोकलपर्सन श्रेष्ठ भन्नुहुन्छ, ‘अगाडि प्रहरीको गाडी, बीचमा न्यू भिजनको एम्बुलेन्समा हुसैनलाई राखेर पछाडी भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले चलाएको गाडीमा म बसेको थिए । यसरी हुसैनलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा अस्पतालमा पु¥यायौ ।’
क्यान्सर अस्पतालको आइसोलेसनमा बिरामीलाई राख्ने र मोबाइलबाट भिडियो कल गरेर अवस्था बुझ्ने व्यवस्था मिलाइएको थियो । हुसैनसँग भने मोबाइल पनि थिएन । हुसैनलाई मोबाइलको व्यवस्था गरियो । फोकलपर्सन श्रेष्ठले आधा रात लगाएर हुसैनको सम्पर्कमा आएका व्यक्तिको नामावली संकलन गर्नुभयो । एक सय १५ जना देखियो ।
भोलीपल्ट २० गते एक सय १५ जनाको स्याम्पल संकलन भयो । २१ गते रिपोर्ट आउँदा १५ जनामा कोरोना देखियो । फेरि १५ जनाको सम्पर्कमा रहेका व्यक्तिको स्याम्पल लिदा ८ जनालाई कोरोना पुष्टि भयो । यी सबै वडा नं. ८, जोलाहनपुरुवाका थिए । टोल नै ‘सील’ गरियो ।
बैशाख २९ गते विभिन्न ठाउँबाट ५ सय २६ वटा स्याम्पल संकलन गरेर जाँच गरिएको थियो । त्यसमा एकजना पोजिटिभ भेटिए । त्यो पनि त्यही जोलाहनपुरुवाकै थिए । योसँगै एउटै टोलमा कोरोना संक्रमित २५ जना पुगे । निषेधाज्ञा लगाइयो । नेपालगञ्ज सुनसान हुँदै गयो । फाटफुट बाहिर निस्किनेलाई प्रहरीले क्याचिङ स्टीकको माध्यमले नियन्त्रणमा लिदै दिनभरी सडकमा राख्न थाल्यो ।
सरकारले चैत्र ११ गतेदेखि नै लकडाउन गरेकाले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेका थिए । सीमावर्ती जिल्ला भएकाले नरैनापुरमा घर फर्किने बढी नै थिए । बैशाख ३० गते नरैनापुरमा ५६ जनाको स्वाव परीक्षण गरियो । ८ जनामा कोरोना पुष्टि भयो । कोरोना पुष्टि त भयो, आठै जनालाई कुनै लक्षण चिन्ह थिएन । उनीहरुलाई फोकलपर्सन श्रेष्ठसहितको प्रहरी टोलीले राती १२ बजे घरघरमा पुगेर सबैलाई नेपालगञ्ज ल्याए । सबैलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगेर राखियो ।
नेपालगञ्जसँगै नरैनापुरमा डर, त्रास ह्वात्तै बढेको थियो । बैशाख ३१ गते जिल्लामा दुई सय जनाको स्वाव परीक्षण भयो । त्यसमा ५९ जनामा कोरोना पुष्टि भयो । २५ बेडको नेपालगञ्जको लायन्स डेन्टल आइसोलेसनमा ५९ जनालाई ल्याइयो । केहीलाई कोहलपुरको पिपरीमा बनाइएको आइसोलेसनमा राख्ने भनिएपनि स्थानीयले विरोध गरे । राती १२ बजे प्रहरीले बल प्रयोग गरेर ४१ जनालाई पिपरीमा राखियो । बाँकेका तत्कालिन डीएसपी शिवबहादुर सिंह आफै दलबलसहित पिपरीमा पुग्दा त्यहाँको व्यवस्थापन फोकलपर्सन श्रेष्ठले गर्नु भएको थियो ।
कोरोना कहरसँगै भारतबाट फर्किने बढ्दै थिए । पालिकाहरुमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाएर उनीहरुलाई राख्न थालिएको थियो । यो बीचमा बाँकेमा २६ वटा आइसोलेसन सेन्टर बने । ७० वटा क्वारेन्टाइन बनाइयो । १४ हजार बढी क्वारेन्टाइनमा बसे । एघार हजारलाई आरडीटी गरेर पठाइयो ।
भारतले लकडाउनलाई खुकुलो गर्दै गयो । त्यसपछि नेपालीहरु सहजै नाकासम्म आइपुगे । यता आउन रोक नै लगाइएको थियो । नाकामा आरडीटी गर्ने र नेगेटिभ देखिएकालाई सम्बन्धित ठाउँमा पठाइदिने नीति बनाइयो । जेठ अन्तिमतिर एक दिन ४ सय २६ जना नेपालगञ्ज नाकामा आइपुगे । राती ११ बजेदेखि आरडीटी जाँच्न शुरु गरेकोमा विहान ४ बजेमात्रै सिधियो । फोकलपर्सन श्रेष्ठले भन्नुभयो, ‘यो दिन रातभरी सुतिएन । ४ सय २६ जनामध्येमा तीन जनालाई कोरोना पुष्टि भएको थियो ।’
भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र आरडीटी जाँचेर नेगेटिभ आएकालाई घर पठाइदिने क्रम चलिरहेको थियो । असार अन्तिममा आइपुग्दा बाँकेमा १२ जना डिस्चार्ज हुन बाँकी थियो । यही बेलामा समुदायमा पनि कोरोना फैलिएको आशंका गरेर त्रिभुवनचोकमा सर्वसाधारणको स्वाव परीक्षण गरियो । मिठाई पसलमा काम गर्ने र आन्तरिक राजश्व कार्यालयका कर अधिकृतलगायतलाई कोरोना पुष्टि भयो । त्यसपछि धमाधम समुदायमा कोरोना संक्रमित भेटिए । यातायात कार्यालय, अदालत, आन्तरिक राजश्व कार्यालयलगायतका कार्यालयमा शुरुवातमा कोरोना संक्रमित भेटिए ।
कोरोना पुष्टि भएपछि उसलाई त्यही दिन आइसोलेसनमा लैजानु पथ्र्यो । यसको चाँजोपाँचो मिलाउनेदेखि मान्छे लिन फोकलपर्सन श्रेष्ठ आफै जानु हुन्थ्यो ।
श्रेष्ठका अनुसार, शुरुवाती चरणमा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अझ कष्ट सहनु प¥यो । जेठ १ गते कोरोना पुष्टि भएका नरैनापुरका २५ वर्षीय अनिस अन्सारीको ३ गते मृत्यु भएको थियो । कोरोनाले मृत्यु भएका व्यक्तिको नजिक को जानु ? घरपरिवारका सदस्य क्वारेन्टाइन बनाएको स्कूल आसपासमा बसेर रोइरहेका थिए । शव स्कूलको चौरमा थियो । लाश लिन गएको एम्बुलेन्स नै भाग्यो । अझ आपत आइलाग्यो । अन्तिममा डोजरले शव उठायो । राप्ती नदीको किनारमा डोजरले नै खाल्टो खनेर शवको व्यवस्थापन गरियो । पछिल्लो समयमा कोरोनाबाट मृत्यु भएकालाई नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ ।
कोरोनाबाट मृत्यु भएकालाई कतिपयलाई घरपरिवारले समेत बेवास्ता गर्ने गरेका छन् । कतिलाई घरपरिवारले एकपटक घरमा ल्याएर शव व्यवस्थापन गरिदिन अनुनय विनय गर्ने गरेका छन् । कोहलपुरका विक थरकी महिलाको मृत्यु हुँदा घरपरिवारका सदस्य नै आएनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, फोकलपर्सन श्रेष्ठलगायतको उपस्थितिमा सिधनिया घाटमा जलाइयो । दाङका १५ वर्षीय किशोर सज्जल पन्थीको मृत्यु हुँदा आमाले एकपटक घरमा ल्याएर दाहसंस्कार गरिदिन अनुनय बिनय गरेपछि श्रेष्ठको अगुवाई शवलाई दाङ लगेर दाहसंस्कार गरियो । यो बाँकेमा मृत्यु भएका बाहिरी जिल्लाको शवलाई सम्बन्धित ठाउँमै लगेर दाहसंस्कार गरिएको पहिलो घटना थियो ।
फोकलपर्सन श्रेष्ठको काम तथ्यांक अपडेट गर्ने प्रमुख रहेको छ । राती एक बजे होस् या दुई बजे, कोरोना संक्रमितको मृत्यु भएको, संक्रमित थपिएको वा डिस्चार्ज भएको रिपोर्ट सबैको मेलमा तत्काल नै आइपुग्छ । श्रेष्ठको रातदिन खटेर काम गर्ने बानीले गर्दा नै बर्दिया सरुवा भएका श्रेष्ठलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले फोकलपर्सन बनाएर बाँकेमै राखेको छ । स्थानीयदेखि केन्द्रको रिपोर्टिङ अनि पत्रकारलाई तत्काल सूचना उपलब्ध गराउने श्रेष्ठको दैनिकी नै बनेको छ ।
श्रेष्ठ २०७६ भदौ १२ गते बाँके स्वास्थ्य कार्यालयमा सरुवा भएर आउनु भएको थियो । स्वास्थ्य कार्यालयबाट फोकलपर्सन तोकिएपछि श्रेष्ठको दौडधुप फाल्गुन २३ गतेदेखि शुरु भएको थियो । यो दिन तयारी बैठक बसेको थियो । किनकी, फाल्गुन १६ गते तीन जना शंकास्पद केस भेटिएको थियो । उनीहरुको स्याम्पल संकलन गरेर काठमाडौं पठाउदा रिपोर्ट नेगेटिभ आएको थियो ।
चैत्र ११ गतेको लकडाउनपछि श्रेष्ठको दौडधुप अझ बढेर गयो । चैत्र १७ गते शंकास्पद ७ वटा स्याम्पललाई प्लेन चार्टर गरेर काठमाडौं पठाइयो । त्यसपछि पनि प्लेनमा स्याम्पल पठाउन थालियो । यो सबै काम श्रेष्ठले गर्नु पथ्र्यो । पीसीआरका लागि भीटीएम लिन बुटवल र दाङ पुग्नुभयो । बुटवलबाट १० र दाङबाट ७ वटा ल्याउनुभयो ।
भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने र आरडीटी जाँच गर्दै घर पठाउन श्रेष्ठले त्यसरी नै खटिनुभयो । श्रेष्ठ भन्नुहुन्छ, ‘शुरुवातदेखि नामावली, स्याम्पल संकलन, सामाग्री तयार गर्ने काममा लागि रहे ।’
राती ११÷१२ बजेसम्म स्वास्थ्य कार्यालयमा बसेर काम गर्ने श्रेष्ठ विहान फेरि ६ बजे नै कार्यालयमा आइपुग्दा अरुले पनि कति खटेको होला भन्ने भन्थे । कोरोनाको धेरै काम श्रेष्ठले एक्लैले गरिरहेको देखिन्थ्यो । डाटाका लागि त उहाँ धेरै अगाडि हुनुहुन्छ ।
‘काम गर्नु फलको आशा नगर्नु’ भन्ने मान्यतालाई अंगीकार गरेका श्रेष्ठको कामको मूल्यांकन सरकारले पनि गरेको छ । संविधान दिवसको दिन श्रेष्ठलाई प्रबल जनसेवा श्री चौथोबाट सम्मानित गरिएको छ । कोरोना कहरमा श्रेष्ठले गरेको कामलाई हेरेर नै सरकारले यो पुरस्कार दिएको थियो । हुन त ११ वर्ष हुम्ला स्वास्थ्य कार्यालयमा बस्दा श्रेष्ठको नाम दुई पटक स्वास्थ्य सेवा पुरस्कारका लागि सिफारिस भएको थियो । पुरस्कार भने मिलेको थिएन ।
अस्पतालमा बेड छैन, पीसीआर निशुल्क जाँच्नु परे श्रेष्ठलाई नै फोन आउँछ । फोकलपर्सन श्रेष्ठ भन्नुहुन्छ, ‘म आफू सन्तुष्ट छु । धेरै मानिसले मेरो नाम र नम्बर राखेका छन् ।’ श्रेष्ठको दौडधुप अहिले पनि जारी नै छ । राती अबेर र बिहानै डाटामा खेल्ने उहाँको दैनिकी नै छ । त्यसका अलावा प्लाज्माको व्यवस्थापन अर्को जिम्मेवारी थपिएको छ । ‘प्जाज्मा चाहियो भनेर काठमाडौंबाट पनि आइरहेको छ, श्रेष्ठले भन्नुभयो, यसलाई फोन ग¥यो भने काम हुन्छ भन्ने सबैमा मनमा परेको छ । यो मेरा लागि ठूलो उपलब्धी हो ।’


error: यो सुविधा उपलब्ध छैन !