खजुरामा अस्पतालको शिलान्यास

खजुरा – बाँकेको खजुरा गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।
नेपाल सरकार संघको बजेटमार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले सोमवार एक समारोहका वीच शिलान्यास गर्नुभयो ।
१८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता गर्नुभयो ।
सरकारले सर्वसुलभ स्वास्थ्य उपचारका लागि देशका ३ सय ९६ स्थानमा आज एकै पटक शिलान्यास गर्दा बाँकेको खजुरामा पनि १५ शैयाको अस्पतालको शिलान्यास हुनु आफैमा महत्वपूर्ण रहेको बताउँदै सांसद रोकायले लोकतान्त्रिक सरकार जनतालाई सेवा दिन तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक व्यवस्थामा सरकार र जनप्रतिनिधि जनताका इच्छा र चाहना अनुसारका कार्यक्रम लिएर अगाडि बढ्ने गरेको बताउँदै उक्त व्यवस्थाको रक्षा गर्न सबैमा अपील गर्नुभयो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताउनुभयो । उहाँले नेपाल सरकारले स्वास्थ्यमा आमूल परिवर्तन गर्न एकै पटक ३ सय ९६ वटा अस्पताल निर्माण गर्ने कुरा स्वास्थ्य क्षेत्रमा क्रान्ति भएको उल्लेख गर्नुभयो । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तरमै अस्पताल निर्माण शुरु भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !