नेपालगञ्ज म्याराथन : ‘टप’ धावकको कडा प्रतिस्पर्धा हुँदै
नेपालगञ्ज – यसपालीको नेपालगञ्ज म्याराथनमा नेपालका ‘टप’ धावकको सहभागिता हुने भएको छ ।
टोकियो ओलम्पिकको छनौटसमेत भएकाले मंसीर ६ गते हुने छैठौ धारा नेपालगञ्ज म्याराथनमा नेपालका टप धावकहरुको सहभागिता हुने भएको हो ।
आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्णपदक विजेता किरणसिंह बोगटी, सागकै स्वर्ण पदक विजेता गोपी पार्की, नेपालगञ्ज म्याराथनका पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गतवर्षका विजेता नवराज साउद र गतवर्ष सेकेन्ड भएका खगेन्द्र भाटको सहभागिता हुने जानकारी दिएको छ ।
हाफ म्याराथनतर्फ १३ औं सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका खेलाडीको सहभागिता हुने जानकारी दिइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरीमा आवद्ध धावकहरुको नेपालगञ्ज म्याराथनमा सहभागिता हुने भएको छ । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले इलामदेखि महेन्द्रनगरसम्मका नेपालका टप धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागिता हुने जानकारी दिनुभयो ।
‘टोकियो ओलम्पिकमा यहीबाट जाने भएकाले नेपालगञ्ज म्याराथनमा देशका टप धावकहरु सहभागी हुन्छन्, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले भन्नुभयो, नेपाली सेना र सशस्त्र प्रहरीका खेलाडीहरु आइसकेका छन् । अरु पनि आउँदैछन् ।’
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले टोकियो जाने बाटो खुल्ला हुने भएकाले यसपालीको नेपालगञ्ज म्याराथनको छुट्टै महत्व रहेको बताउनुभयो ।
आयोजकले यसपाली पुरस्कार राशीसमेत बढाएका छन् । यो वर्षको म्याराथन विजेताले ७५ हजार पाउनेछन् । हाफ म्याराथन विजेताले ३० हजार पाउनेछन् । म्याराथनको शीर्ष आठ र हाफ म्याराथनका शीर्ष छैठौले पुरस्कार पाउने अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।
बिहीबारको पत्रकार सम्मेलनमा आयोजकले खेलाडीले लगाउने टीसर्ट सार्वजनिक गरेका थिए ।