स्वर्ग जाने बाटो, ‘स्वर्गद्वारी’ !

स्वर्गद्वारी (प्युठान) – अम्मरबहादुर बाठा स्वर्ग जाने विश्वासका साथ स्वर्गद्वारीको यात्रामा निस्केका हुन् । ८७ बर्ष पुरा भएका बाठा वि.सं.१९९० साल नुवागाउँ रोल्पामा जन्मिएका थिए ।
स्वर्गद्वारी तपोभूमि भएकाले यहाँ आएकाहरु मृत्यु पश्चात स्वर्ग जाने जनविश्वास रहि आएको छ । त्यही स्वर्गजाने विश्वास बोकेर बाठा दोस्रो पटक स्वर्गद्वारी पुगेका हुन् ।
उकालोमा पैदल हिंडिरहेका बाठा भन्नुहुन्छ, ‘पहिल्यै श्रीमतीले जाम भनेर त्यसै आएको थिएँ, यो पटक आफ्नै मनले भनेर स्वर्ग जाने विश्वासका साथ आएको हुँ ।’
वैदिक सनातन हिन्दू धर्ममा मानिसको मृत्यु भए पछि असल कर्म गरेकाहरु स्वर्ग जाने र गलत कर्म गरेकाहरु नर्क जाने भन्ने धारणा छ ।
स्वर्ग र नर्कको हाईपोथेसिसमा अधिकाशं हिन्दू धर्मावलम्वीहरु आँखा चिम्लेर विश्वास गर्छन् ।
यतिमात्रै नभएर स्वर्गद्वारीको उचाईबाट सेताम्य हिम श्रृखंलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ ।
द्वापर युगमा पाँच पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको विश्वासले यहाँको नाम स्वर्गद्वारी नाम रहन गएको कुरा आश्रममा बस्ने सन्यासीहरुले सुनाउने गर्छन् । ऋषिहरूले तपोभूमी मानेर तपस्या साधना गरेको भूमिका रुपमा स्वर्गद्वारीलाई लिइने गरिन्छ ।


भगवान ब्रम्ह स्वयंले समेत स्वर्गद्वारीको भूमिमा तपस्या गरेको भन्ने जनविश्वास छ । स्वर्गद्वारीमा अग्निखण्ड, गुफा, शिव भगवान स्वर्ग गएको बाटो, गाई पालन सहित महाप्रभुको समाधिको दर्शन गर्दा पुण्य कमाईनुका साथसाथै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
रोल्पा जिल्लाको रुम्टीमा जन्मिएका नारायण गौतम आफ्नो छैटीको दिन आमाले मासु खाएको थाहापाउँदा ३ दिन सम्म भोकै बसेर दशौ दिन पुगेपछि कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेर देखि शिवको भक्तिमा लागेको स्वर्गद्वारी आश्रमका सन्यासीहरु बताउँछन् ।
२ हजार मिटर भन्दा अग्लो पहाडमा रहेको ओढारमा ३ वर्ष सम्म नारायण गौतमले कठोर साधना गरेको भन्ने जनविश्वास गरिन्छ । उनै नारायण गौतम पछि वि. सं. १९४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपछि हंसानन्द गिरी महाप्रभुकोर रुपमा सिद्दि प्राप्त गरेका थिए ।
रोल्पा जिल्लामा पर्ने रुम्टी साविकको गाँउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रमु बालतपस्वि नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आश्रम बनाएर बस्न थालेका हुन् । वेद मन्त्र सहित अग्नी प्रज्वलित गरी १९५२ बैशाख पूर्णिमादेखि शुरु गरिएको अखण्ड महायज्ञ हालसम्म निरन्तररूपमा चलिरहेको बताइन्छ ।
स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न हरेक बर्ष भारतदेखि पनि श्रद्धालु भक्तजनहरु आउने गर्छन् । तर कोभिड–१९को महामारीका कारण दर्शनार्थीहरुको उपस्थिति न्युन रहेको पाइएको छ । बैशाख पूर्णिमा, कार्तिक पूर्णिमा र माघे सक्रान्तिमा स्वर्गद्वारीमा विशेष मेला लाग्ने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !