दाङका केसीको नेपालगञ्जमा मृत्यु
नेपालगञ्ज – कोरोना पुष्टि भएका दाङ घोराही उपमहानगरपालिका १५ का ७५ वर्षीय चन्द्रबहादुर केसीको नेपालगञ्जमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, कात्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि केसीलाई नेपालगञ्ज ल्याइएको थियो । त्यही दिन स्वाव संकलन गरेर परीक्षण गर्दा भोलीपल्ट केसीलाई कोरोना देखिएको थियो ।
केसीको उपचारको क्रममा आज विहान १०.२० बजे मृत्यु भएको छ । केसीको केही समय अघि मुटुको भल्भसम्बन्धी अप्रेसन गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
यसैबीच, बाँकेमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । उनीहरुमध्ये ३३ जनाको भेरी अस्पताल र १४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मध्यम खालका ५४ जना र सामान्य ६ जना बिरामी रहेका छन् ।