खसीको भनेर बाख्राको मासु बिक्री
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रबार अनुगमन गरेको छ । अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमति पसल सञ्चालन गरेको पाइएको छ ।
अनुगमन टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवाना सहित बन्द गराएको छ । वाणिज्य कार्यालयले जरिबाना गराएको हो । सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पसलबाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।
फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीलगायतको सहभागिता रहेको थियो ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बजार अनुगमनसँगै उपभोक्ता सचेतनामा पनि जोड दिन अभियान सञ्चालन गरिने बताउनुभयो ।