नेपालगञ्ज म्याराथन : नेपाल र भारतमा दौडाउने हुटहुटी
सन्तोष केसी (नेपालगञ्ज) – नेपालमा चार वटा म्याराथन चर्चित छन् । काठमाडौं, आर्मी, पोखरा र नेपालगञ्ज म्याराथन । यी चार वटा ए ग्रेडका म्याराथन हुन् भन्दा हुन्छ ।
नेपाल एथलेटिक्स संघले देशका चर्चित धावकलाई सहभागी गराएर निरन्तर चार पटक भन्दा बढी कार्यक्रम गरेकालाई ए ग्रेडको म्याराथन भनिरहेको छ । यस अर्थमा छैठौ संस्करणको अन्तिम तयारीमा रहेको नेपालगञ्ज म्याराथन ए ग्रेडमा पर्ने भइहाल्यो ।
सम्बद्धहरु नेपालगञ्ज म्याराथनलाई अझ फराकिलो तरिकाले सोच्दैछन् । आयोजक क्रियटिभ ह्याण्ड्सको अध्यक्षका नाताले टीएस ठकुरीले आफ्ना सपना देख्नुलाई त यहाँका मानिसले सामान्य रुपमा नै लिइरहेका छन् । ठकुरीको सोचाईलाई साकार पार्ने गरी नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई नेपाल र भारतमा दौडाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तर्क राखेपछि माहौल गर्माएको छ ।
शाहले ४२ किलोमिटरमा २१ किलोमिटर नेपालमा र २१ किलोमिटर भारतमा खेलाडीलाई दौडाउन सके यो ऐतिहासिक हुने बताउनु भएको छ । यही क्षेत्र जाजरकोट निवासी शाहले नेपालगञ्ज म्याराथनलाई अपनत्व लिएर यति ठूलो सोचाई राखिरहदा ‘नेपालगञ्ज हामी बनाउँछौं’ भन्नेहरु कानमा तेल हालेर सुतेकाजस्तै छन् । उनीहरुले यसको महत्व बुझ्न सकेका छैनन् । ‘खाली दुई घण्टा दौडिने त हो नि’ भनिरहेका छन् ।
नेपालगञ्ज शहरलाई विश्वमा चिनाउने सपना देखेर थालिएको नेपालगञ्ज म्याराथन अझै ‘खुट्टामा उभिन’ सकिसकेको छैन । यसपाली पुरानो ‘पार्टनर’ले निरन्तरता दिन्छन् कि दिदैनन् भन्ने तनाव रहेकै छ । राज्यले अझै स्वामित्व लिइसकेको छैन । बिस्तारै लिन खोजेजस्तो देखिएको छ ।
दश वर्षे सशस्त्र द्वन्द्वको वैधानिक रुपमा अन्त्य भएको मंसीर ५ को विस्तृत शान्ति सम्झौताको सम्झनामा हरेक वर्ष गरिदै आएको नेपालगञ्ज म्याराथन क्रमशः स्थापित हुँदै गएको छ । तीन सय जना दौडेर शुरु भएको नेपालगञ्ज म्याराथनको गत संस्करणमा पैतिस सय बढीले भाग लिएका थिए । यो संख्या अझै बढ्दै जाने विश्वास गरिएकोमा यसपाली कोरोनाले अलिकति चुनौती थपेको छ । म्याराथनमा दौड्ने संख्या घटेपनि कोरोनाले नेपालगञ्जलाई अझ ठूलो अवसर सिर्जना गरिदिएको छ । यसपाली टोकियो ओलम्पिकमा जाने नेपाली धावक नेपालगञ्ज म्याराथनबाटै छनौट हुँदैछन् । यसको अर्थ नेपालगञ्ज म्याराथन सरकारी क्यालेन्डरमा परेको छ ।
हुन त नेपाल एथलेटिक्स संघले म्याराथनको क्यालेन्टर बनाइसकेको छैन । संघका अध्यक्ष शाहले छिट्टै क्यालेन्टर बनाउने जानकारी दिनुभयो । एक पटक म्याराथनमा दौडिएको खेलाडीलाई कम्तीमा तीन महिना आराम चाहिन्छ । तीन महिना अघि नै दौडिने स्थिति आयो भने उसको ‘स्पीड’ घट्ने विश्वास गरिन्छ । यस कुरालाई मध्यनजर गरेर संघले ए ग्रेडका म्याराथनलाई क्यालेन्डरमा राख्ने तयारी गरेको छ ।
जाजरकोटका शाहले नेपालगञ्जमा आएर नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न दिलो ज्यान दिने अवस्था आएमा नेपालगञ्ज र बाँकेको ‘रैथाने र मै हुँ’ भन्नेहरुले कसरी मुख देखाउँलान् ? प्रश्न नजिक देखिन्छ ।