देव चिकित्सक अश्विनीकुमार

प्रत्येक अभिभावक आफ्ना सन्तानको भविष्यबारे चिन्तित हुन्छन् । उनीहरु सफल ब्यक्ति भएको, समाजमा उदाहरणीय काम गरेको, यहाँसम्म कि कतिपय अत्यधिक महत्वकांक्षी आमाबावुले आफ्नो सन्तानले विश्वमै नयाँ किर्तिमान कायम गरोस् भन्ने चाहना समेत राख्छन् ।
हो यस्ता चाहना कतिको पुरा हुन्छन् भने कतिका बाँकी हुन्छन् । आफुले गर्न नसकेका कार्यहरु र आफ्ना अतृप्त चाहना आफ्ना सन्तानले पुरा गरोस् भन्ने अभिभावकको पनि फेहरिस्त लामो छ । त्यसैको लागि उनीहरुले न्वारानमा आफ्ना सन्ततिका नाम राख्दा ठूला–ठूला सफल ब्यक्तिहरुका ईश्वरका, देवताका पनि नाम राख्ने गरेको पाइन्छ ।
यी नामहरुमा अश्विनी कुमार पनि एक हो । झट्ट हेर्दा र सुन्दा स्त्री लिंगी जस्तो लागे पनि पुरुषहरुको नाम अश्विनी कुमार राखिन्छ । ती अश्विनी कुमार को थिए त ? उनले के यस्तो योगदान गरेका थिए कि मान्छेहरुले हजारौँ वर्ष पछिसम्म पनि उनको नामलाई यति महत्व दिन्छन् ।
आज म ऋग्वेद प्रथम खण्डमा उल्लेख गरिका र श्री मद्देवी भागवत महापुराणमा समेत उल्लेख गरिएका अश्विनी कुमार बारे चर्चा गर्न चाहन्छु । अश्विनी कुमार एउटै ब्यक्ति जस्तो भान भए पनि अश्विनी र कुमार यी दुई जुम्ल्याहा दाजुभाइ थिए । यी दुवै अत्यन्त सुन्दर मेधावी र सधैँ अरुको मद्दत गर्ने स्वर्गमा देवताहरुका अद्भुत चिकित्सक अर्थात डाक्टरहरु थिए । यद्यपि स्वर्गमा कुनै रोग ब्याध लाग्दैन, कोही विरामी पर्दैन, बुढो हुन्न यहाँसम्म कि मृत्यु पनि वरण गर्दैन भनेर भन्ने गरिन्छ तर धर्म क्षिण भएमा आत्मा स्वर्गको हकदार रहन्न । त्यहाँ पनि क्षय हुन्छ । यदि स्वर्गमा कोही विरामी नहुने भए अश्विनी कुमार जस्ता चिकित्सकहरु कुन प्रयोजनका लागि त्यहाँ थिए त ? त्यसैले जे भनेर स्वर्गको वर्णन गरिए पनि त्यहाँ पनि रोग ब्याधी रहेछ भन्ने स्पष्ट हुन्छ ।
भृगु पुत्र च्यवन ऋषि तपस्या गर्दा गर्दै वर्षौ बित्छ । उनको शरीरलाई धामिराले माटोले छोपी दिन्छ । त्यहि वेला राजा शर्याती आफ्ना रानीहरु र राजकन्या सुकन्या सहित वन विहारमा जान्छन् । माटोको ढिस्कोबाट जुनकिरी जस्तो चम्किलो कुरो देखियो । यो देखेपछि राजकुमारी सुकन्याले उत्सुकतावस दुइटा काँटाहरु घुसार्दा त्यो प्वालबाट रगत बग्छ । उनी डराउँछिन । माटो भत्काउँदा त्यो भित्र च्यवन ऋषि हुन्छन् । प्रायश्चित स्वरुप ती राजकन्या सुकन्याको विवाह ती वृद्ध, धनहीन र नेत्रबिहीन ऋषिसित हुन्छ । निकै कष्टका साथ राजकुमारीले आफ्नो पतिव्रता धर्म निर्वाह गरेकी हुन्छिन् । एक दिन उनी गंगा स्नान गरेर आश्रममा फर्किदा अश्विनी कुमारसित भेट हुन्छ । ऋग्वेदका अनुसार, उनी माथि कुमारद्वय आकर्षित हुन्छन् तर राजकुमारी सुकन्या आफ्ना पतिव्रता धर्ममा अडिग हुन्छिन् । यसबाट ती दुवै देव चिकित्सक साह्रै प्रभावित हुन्छन् र उनको आग्रहमा च्यवन ऋषिको नेत्रहरुको उपचार गरी दृष्टिवान बनाएर उनलाई युवक समेत बनाइदिएका थिए भन्ने उल्लेख गरिएको छ । यो घटना श्री मद्धेवी भागवत द्वितीय खण्ड तृतिय अध्यायमा समेत उल्लेख गरिएको छ ।
ऋग्वेदको प्रथम खण्डको, ११६ सुक्तमा उनीहरुको योगदानबारे राम्रो चर्चा गरिएको छ । खेल नामक राजाकी रानीको एउटा युद्धमा गोडा काटिन्छ । यी दुई भाइले नै फलामको जाँघ अर्थात गोडा बनाएर जोडिदिए र हिड्न सक्ने वनाएका थिए ।
विमदकी पत्नीलाई सेनाको प्रयोग गरेर यमबाट फिर्ता ल्याइ विमदलाई दिएका थिए । तुग्रले भुज्यलाई समुद्रमा छोडि दिएका थिए । भुज्यको मृत्युको विकल्प थिएन । ऋग्वेदमा ‘अन्तरिक्ष गामिनी नाव’ भनिएको छ, तर आजको अवस्था हेर्दा र बुझ्दा हेलिकप्टर जस्तो यानको प्रयोग गरेर भुज्यको जीवन रक्षा गरेका थिए ।
राजा पैदुको घोडाहरु अत्यन्त खतरनाक थिए । उनलाई कल्याणकारी सेता घोडा दिएर मद्दत गरेका थिए । त्यो सेतो घोडा संधै युद्ध विजेता थियो । असुरहरुले अग्नीलाई आफुसित मात्र राखेका थिए । त्यसलाई उनीहरुको वन्धनलाई मुक्ति गराई सर्वसुलभ वनाइ दिएका थिए ।
गौतम ऋषिको आश्रममा पानीको चरम अभाव हुन गयो । उनीहरुले पानीको लागि कुँवाको व्यवस्था गरेका थिए । उनीहरुले वन्दनलाई कुँवावाट उद्दार गरेका थिए । अश्विनी कुमारले मधु–विद्या जान्न चाहेका थिए । तसर्थ अथर्वाका मृत पुत्र दध्यङलाई घोडाको शीर जोडेर जीवित वनाईदिए र दध्यङले अश्विनी कुमारलाई मधु विद्या सिकाएका थिए ।
उनीहरुले वध्निमतलाई हिरण्यहस्त नामक पुत्र प्रदान गरेका थिए । वेटरीलाई ब्वाँसोकोमुखबाट बचाएका थिए । दृष्टिबिहीन कण्वको उपचार गरेर दृष्टि प्रदान गरेका थिए ।
ऋजश्वले अल्हडपनमा सय वटा भेडा काटेका थिए । ऋजाश्वलाई उनको आफ्नो पिताले दण्ड स्वरुप दृष्टिहीन वनाइदिएका थिए । तर उनीहरुले उपचार गरेर दृष्टिवान वनाइदिएका थिए । शत्रुवाट घेरिएका राजा जाहुषलाई आफ्नो रथवाट रक्षा गरे । पृथुश्रवाको शत्रु नष्ट गरेका थिए । उनीहरुले बाँझी गाईलाई दुधालु वनाएका थिए ।
कृष्ण ऋषिका पुत्र विश्वकलाई उनका विष्णायुसित भेट गराएका थिए । रेभ ऋषिलाई वाँधेर दशरात नौ दिनसम्म पानीमा डुबाइएको थियो । अश्विनी र कुमारले रेभ ऋषिलाई पानीबाट उद्धार गरेर जीवित वनाए र छिन्न भिन्न भएको उनको शरीरलाई उपचार गरेर जोडिदिएका थिए ।
श्याव ऋषिलाई काटेर तीन टुक्रा पारिएको थियो । उनलाई पनि जोडेर जीवित वनाएका थिए । यस प्रकार भन्न सकिन्छ कि उनीहरु स्वर्गलोकमा कार्यरत महान चिकित्सकहरु थिए । जसले धेरैलाई उपचार गरेर नेत्रका साथै जीवन दान दिएका थिए । ती महान आत्माहरुलाई शतशत नमन छ ।


error: यो सुविधा उपलब्ध छैन !