पश्चिम बङ्गालमा बिताएका ती दिन

क्रमशः
हाम्रो पुख्र्यौली घर पर्वतको बाजुङ गाविसस्थित बाउसेमा थियो । पुर्खा भुमराकोटबाट यहाँ सरेका रहेछन् । बुबा चन्द्रबहादुरका तीन भाइ र दुई बहिनी थिए । माइला बुबा धनबहादुरका तीन छोरी थिए । एकको निधन भइसकेको छ, दुई छोरी पर्वतमै बस्छन् । कान्छा बुबा दिलबहादुरका दुई छोरा र एक छोरी पनि पर्वतमै बस्छन् ।
माइला र कान्छा बुबा भारतको असाम, गुहाटीमा काम गर्नुहुन्थ्यो । त्यतिबेला पर्वतका धेरै मानिस गुहाटीमा नोकरी गर्थे । खेती लगाउने र दसैँका बेला मात्र नेपाल फर्किन्थे । वि.सं. २०१७ मा हाम्रा बुबाआमाको विवाह भयो ।
त्यतिबेला आमा भर्खर १५ वर्षको हुनुहुन्थ्यो । बुबाको दोस्रो विवाह थियो । विवाहपछि बुबा आमालाई लिएर माइला र कान्छोबुबासँगै गुहाटी जानुभयो । बुबाआमा केही समय गुहाटीमा बसेपछि कामका सिलसिलामा कोलकाता आउनुभएछ । त्यहाँ बन्दरगाहभित्र विभिन्न कम्पनीका सामान राख्ने गोदाम थिए । र, पानीजहाजमा पनि सुरक्षा गार्ड राख्ने चलन थियो । त्यहीँ सेक्युरिटीमा बुबाले काम थाल्नुभयो । वि.सं. २०३७ सम्मै त्यहाँ काम गर्नुभयो, अरू नातेदारलाई पनि काम लगाइदिनुभयो ।
ठूलदिदी कमला, ठूलो दाइ यामबहादुर, माइला दाइ सुरजबहादुर भारतमै जन्मिए । मचाहिँ आमा नेपालमा भएका बेला बर्दियामा आफन्तको घरमा जन्मिएँ । पढाइ भने हामीले कोलकातामै पूरा ग¥यौँ । बुबाको निधनपछि आमाले बडो दुःखकष्ट बेहोरेर अनेक सङ्घर्ष गरेर हामीलाई हुर्काउनुभयो, पढाउनुभयो । हाम्रो परिवार खिदिरपुरको बाबुबजारमा डेरामा बस्थ्यो । आर्थिक कारणले लामो समय एउटा कोठामा गुजारा चलायौँ, आयस्रोत बढेपछि कोठा थप्याँै ।
जेठो दाइले स्नातक पढ्दा–पढ्दै छोड्नुभयो । माइला दाइले १० कक्षासम्म पढ्नुभयो । दिदीले स्नातक गर्नुभयो र मैले स्नातकोत्तर गरेँ । ठूलीआमातर्फ दिदी हुनुहुन्छ, सेती मल्ल । उहाँ काठमाडौँमा बस्नुहुन्छ । आमा पर्वत आउजाउ गरिरहनु हुन्थ्यो । धर्ममामा चन्द्रबहादुर बस्नेतको सल्लाहमा वि.सं. २०४३ तिर आमाले भैरहवामा घरसहित जग्गा किन्नु भयो ।
हाम्रो माइली छमाका ज्वाइँ गिरिराज शर्मा पौडेल बर्दियाको जमुनीमा बस्नुहुन्थ्यो । उहाँकै सल्लाहमा दुई बिघा जमिन किन्नुभयो । पछि त्यसलाई बेचेर फुटाहामा दुई बिघा र पडेरियामा एक बिघा जग्गा किन्नुभयो ।
बर्दिया जाने आउने क्रममै कोहलपुरका नारायणप्रसाद सिग्देलसँग चिनचान भएको थियो । उहाँहरूले रामजानकी मावि खोल्नु भएको थियो । आमाले नारायण सरसँग छोराहरूले ट्युसन पढाइरहेका छन् भन्नुभएछ । नारायण सरले यतै ल्याउनूस् भन्नुभएपछि वि.सं.. २०४५ मै दाइलाई ल्याउनुभयो । इलाका प्रहरी कार्यालयछेउमा माधव श्रेष्ठको घरमा डेरा लिएर दाइले रामजानकीमा पढाउन थाल्नुभयो ।
वि.सं. ०४८ मा भैरहवाको घरसहित जग्गा बेचेर दाइले कोहलपुर चटार (हाल कोहलपुर–१०, शान्ति टोल)मा घर बनाएपछि २०४९ देखि आमा पूर्णरूपले कोहलपुर बस्न थाल्नुभयो । म र माइला दाइ कोलकातामै थियौँ । म २०५० सालमा आएँ, माइला दाइ अहिले पनि कोलकातामै बामरलरी कम्पनीमा काम गर्नुहुन्छ ।
मेरो बाल्यकाल भारत, पश्चिम बङ्गालको कोलकातामा बित्यो । बुबा त्यहाँ पानीजहाज सुरक्षा गार्ड हुनुहुन्थ्यो । एकपटक राजधानीसमेत भइसकेको कोलकाता समग्र भारतकै व्यापारिक सहर थियो । शिक्षा, साहित्य र खेलकुदमा पनि पहिल्यैदेखि अग्रपङ्क्तिमै थियो । त्यहाँको सभ्यता र संस्कारले बुबालाई
लोभ्याएको थियो ।
सामान्य जागिर खाए पनि छोराछोरीलाई उच्च शिक्षा दिनुपर्ने चेत बुबामा कोलकाताले नै जागृत गराएको हो । उहाँले मलाई कोलकातामा आफैँसँग राखेर पढाउन थाल्नु भयो । पुख्र्यौली थलो पर्वतमा हाम्रो जग्गाजमिन र घर थियो । बुबाका दाजुभाइ र आफन्त सबै उतै थिए । त्यो सबै छाडेर हाम्रो परिवार कोलकाता बस्न थाल्यो ।
पानीजहाज सुरक्षा गार्डको जागिरले जेनतेन धान्ने अवस्था थियो । म कान्छो सन्तान । त्यसैले मसँग बुबाका केही सपना जोडिएका थिए, सायद । दाजु र दिदी विद्यालय जान्थे । उमेर पुग्यो, म पनि त्यहीँको मालवीय विद्यालयमा भर्ना भएँ । त्यसबेला हामी खिदिरपुरमा बस्थ्यौँ । त्यहाँबाट स्कुल पुग्न झन्डै २० मिनेटको पैदल दूरी थियो । टोलको एकातर्फबाट छिर्दा मुस्लिम र अर्कोतिरबाट बङ्गाली बस्ती पथ्र्यो । त्यस क्षेत्रलाई बाबुबजार भनिन्थ्यो ।
रोडको नाम थियो, कार्ल माक्र्ससरणी । नजिकै कोलकाता बन्दरगाह । दुई पुलले पानीजहाज पास हुने ठाउँ छुट्याएको थियो । सामुद्रिक तटमा कुदेरै मैले आफ्नो बाल्यकाल बिताएँ । पद्दोपुकुरको मालवीय विद्यालयबाट मेरो बाह्रखरी सुरु भयो । बङ्गाली भाषामा पुकुरको अर्थ पोखरी हुन्छ । त्यहाँ ठूलो पोखरी थियो । सायद त्यसैबाट त्यो ठाउँको नामकरण भएको हुनुपर्छ । मदनमोहन मालवीय भारतका ठूला शिक्षाविद् एवं भारतको स्वतन्त्रता सङ्ग्राममा अतुलनीय योगदान पु¥याएका व्यक्ति थिए । उनकै नामबाट विद्यालय खुलेको थियो ।
सुरुका दिनमा मलाई स्कुल जानै मन लाग्दैनथ्यो । पढाइलेखाइमा ध्यान नदिँदा आमाको हातबाट धेरैपटक पिटाइ खानुप¥यो । स्कुलमा सहायक प्रधानाध्यापक थिए, डीएन सिंह । उनी कडा मिजासका थिए, हेर्दै डरलाग्दा । उनलाई देख्नासाथ गल्ती गर्ने विद्यार्थीको सातोपुत्लो उड्थ्यो । डीएन सरको नाम सुन्नासाथ सबै डरले थुरथुर हुन्थे, चौरबाट दौड्दै कक्षाभित्र पस्थे । स्कुल जानै मन नगर्ने मेरो बानीले आमालाई पिरोलेछ । यस्तै बानी रहिरह्यो भने बर्बाद हुन्छ भन्ने ठानेर एक दिन डीएन सरलाई भनिदिनु
भएछ । आमाले मलाई अर्को दिन आफूसँग लिएर जानु भयो । र, डीएन सरको जिम्मा लगाएर जानासाथ सरले मलाई घोप्टो पारेर हत्केलाले पिट्दै निर्देशन दिइहाले– ‘बुबाआमालाई दुःख नदिएर स्कुल आउने, ध्यान दिएर पढ्ने ।’
उनको आदेशले हो वा झ्यापुले, अहिले यसै भन्न सक्दिनँ । तर, त्यसपछि मैले कहिल्यै स्कुल जान्न भनेर आमालाई दुःख दिइनँ । पढाइमा पनि रस लाग्न थाल्यो । स्कुल नियमित जान थालेँ, पढाइमा सुधार आयो । डर र त्रास देखाएर, यातना दिएर पढाउनु राम्रो तरिका होइन । अहिले भएको भए त्यसलाई अपराध नै मानिन्थ्यो । तर, त्यसबेला विद्यार्थीलाई डर देखाउनु पनि अचूक औषधि मानिन्थ्यो । मेरो हकमा त्यही एक पिटाइले पढाइ नियमित बनायो । कक्षा ५ सम्म मैले त्यही स्कुलमा पढेँ । त्यसपछि मेरो पढाइ बिग्रिएन । मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । पढाइमा मन जान थाल्यो ।
स्नातकोत्तर गर्दासम्म मेरो पढाइको लय उही गतिमा अघि बढ्यो । अहिले पनि स्कुल जान अटेरी गर्ने बालबालिकाको प्रसङ्ग आउँदा मलाई उनै डीएन सरको सम्झना आउँछ । एउटा फरक अनुभूति हुन्छ । भित्रभित्रै म रोमाञ्चित हुन्छु । मनमनै उनीप्रति कृतज्ञता व्यक्त गर्छु ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !