नेपालगञ्जको चिसोमा व्यापारीलाई चुनावी गर्मी

नेपालगञ्ज – नेपालगञ्जको चिसोमा व्यापार संघको चुनावी सरगर्मी बढ्दै गएको छ । समावेशी र साझा लोकतान्त्रिक प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरु कार्यतालिका बनाएर घरदैलोमा पुगेका छन् ।
समावेशी प्यानलका उम्मेदवारले सोमबार धम्वोझी, नर्सिङ्गहोम, खजुरारोड, सुर्खेतरोडमा घरदैलो गरेका छन् । व्यवसायिक हकहितको एजेण्डा बोकेर आफुहरु मतदाता माझ पुगिरहेको उम्मेदवारले बताएका छन् । ‘उद्योगी, व्यवसायीको भरोसाको केन्द्र बनाउने उद्देश्य सहित हामी चुनावमा उत्रिएका छौं, मतदातासँगको भेटमा अध्यक्ष पदका उम्मेदवार चुन्नाले भन्नुभयो, ‘यहाँहरुको साथ र सहयोग रहने आशा गरेका छौं ।’

समावेशी प्यानलका उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।
सोमबार नै साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार घरबारीटोल, धम्बोझीमा घरदैलो गरेका छन् । ललित रौनियार नेतृत्वको टोलीले प्रादेशिक महोत्सवमा पुगेर आफ्नो पक्षमा सहयोग गर्न मतदातासँग अपिल गरेको थियो । ‘आर्थिक समुन्नति सहितको व्यवसायिक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनौवी मैदानमा उत्रिएको रौनियार नेतृत्वको प्यानलले उद्योगी व्यवसायीको हकहित र व्यवसायगत सुरक्षाका लागि मतदान गर्न मतदाताहरुसँग आग्रह गरिरहेको छ ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । सदस्य पदका उम्मेदवारमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।











