मधेसी नेताको अकुत सम्पति जफत गर्न जनमत पार्टीको माग

नेपालगञ्ज – सिके राउतको जनमत पार्टीले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेताको अकुत सम्पति जफत गर्न माग गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनकामा राजपा र समाजवादी पार्टीले नेकपा र कांग्रेससँग सम्झौता गरेपछि क्रुद्ध बनेको जनमत पार्टीले यी दुई पार्टीलाई बहिष्कार गर्ने जनाएको छ । जनमत पार्टीका केन्द्रीय सदस्यद्वय अब्दुल खान र इरफान शेषले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सम्झौताले मधेसी जनताप्रति गद्दारी भएको दावी गर्दै राजपा र समाजवादी पार्टीलाई बहिष्कार गर्नुका साथै यी पार्टीका नेताको अकुत सम्पति जफत गर्न माग गर्नुभयो ।
‘सबै मधेसी नेताहरुको अथाह सम्पति कसरी भयो, छानबिन हुनुपर्छ, नेताद्वयले भन्नुभयो, राज्यले उनीहरुको सम्पति जफत गर्नुपर्छ ।’
जनमत पार्टीले ‘मधेसी जनताको मूल आधार, राजपा, समाजवादीको बहिष्कार’ भन्ने नारा नै बनाएका छन् । उनीहरुले नेकपा र कांगे्रेससँग सम्झौता गर्नु थियो भने विगतमा यी पार्टीविरुद्ध किन घृणा फैलाएको भन्ने प्रश्न गरेका छन् । उनीहरुले चार वटा प्रश्न अघि सारेका छन् । जनमत पार्टीको प्रश्न छ, यदि पटक पटक सत्ता र कुर्सीको लागि कांग्रेस र कम्युनिष्टसँग हात मिलाउनु थियो भने नाकाबन्दी र वर्षौको आन्दोलन राजपा, समाजवादीद्वारा किन गराइयो, आखिर मधेसी जनता केका लागि आन्दोलनमा गएका थिए, के पाए ?, २०६३-६४ र ०७२ को आन्दोलनको उपलब्धी के ?, के मधेसी जनताले समाजवादी र राजपालाई कुर्सी र सत्तामा पु¥याउनको लागि आन्दोलन गरेका थिए ?
भूमिगत कालमा केन्द्रीय प्रवक्ता रहेका खानले राजपा र समाजवादी पार्टीविरुद्ध गाउँगाउँमा भण्डाफोर गर्नुका साथै बहिष्कारको अभियान चलाउने बताउनुभयो । ‘मधेसीको हकहितका लागि भनेर लडाउने काम गरे, उनीहरुले त्यो सबै पद र कुर्सीका लागि गरेका रहेछन्, हामी यसको गाउँगाउँमा भण्डाफोर र बहिष्कार गर्छौ, खानले भन्नुभयो, मधेसी र पहाडीका बीचमा दुश्मनी पैदा गराइयो । त्यो सबै आफ्नो कुर्सीका लागि रहेछ ।’
केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज शेषले रौतहट र बाँकेका रामनोहर काण्डमा उपेन्द्र यादवलाई झेलमा हाल्नु पर्ने दावी गर्नुभयो । उहाँले राजपा र समाजवादी पार्टीका नेताहरु मधेसीको हकहितका लागि नभई आफु कसरी कुर्सीमा पुग्ने भन्नेमा लागेको आरोप लगाउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !