बन्दै हुने भए, सैलुन र ब्यूटीपार्लर !

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले सीमा नाका, ब्यूटीपार्लर, सैलुन पसललाई कडाईका साथ बन्द गर्ने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकमा उक्त कुरा उठेको हो । सरकारले सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।
केहीले सीमा नाका खोल्नु पर्ने बताइरहेको बेलामा सुरक्षा समितिको बैठकमा कडाई गर्नेबारेमा छलफल गरेको हो ।
कपाल काट्ने सैलुन र ब्यूटीपार्लरलाई बन्द गरिने भएको छ । अहिले सबै खुल्ला छन् । सैलुन र ब्यूटीपार्लरमा ग्राहकसँग सिधैं सम्पर्क हुने भएकाले कोरोनाको जोखिम मानेर सरकारले यसलाई बन्द गर्ने रणनीति अपनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता दीर्घराज उपाध्यायले सरकारले निर्णय गरेका कुरालाई कडाईका साथ जाने विषयमा छलफल भएको बताउनुभयो । उपाध्यायले भन्नुभयो, ‘असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने कुरा छ । ब्यूटीपार्लर र सैलुन पसल बन्द गर्ने निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने कुरा भएको छ ।’
केही स्थानीय तहले स्कूल खोल्ने तयारी गरिरहदा जिल्ला प्रशासनले ठाडो हस्तक्षेप गरेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !