अफिम बोक्नेहरु प्रहरी कार्यालय पुगे
नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा लागु पदार्थ अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतको कमाण्डको टोलीले कुसुमबाट करिव दश किलो अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको बुझिएको छ । पक्राउ परेका व्यक्तिहरु दाङ जिल्लाका रहेका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले अफिम बरामद भएको र त्यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
बाँके प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान पछि पत्रकार सम्मेलन गरेर घटनालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
पहाडी जिल्लामा उत्पादन हुने अफिमको कारोबारको केन्द्र नेपालगञ्ज हुँदै भारतीय बजार हुने गरेको छ । कोरोना कहरका बेलामा पनि लागु औषधीको कारोबार भइरहेको प्रहरीले बरामद गरेको घटनाहरुले देखाइरहेका छन् ।