बच्चालाई फुटबल मोह
नेपालगञ्ज – थरी–थरीका पोशाक लगाएका बच्चाहरु । बल हान्न व्यस्त छन् । कतिपय गोलो घेरा बनाएर पासिङ गर्दैछन् । सबैको अनुहार हसिलो छ । रमाइ–रमाइ बलसँगै दौडिदैछन् । बललाई हान्नमात्रै होइन, अर्कालाई छक्याउँदा निस्केको उसको मुस्कान कुनै ठूलै योजनामा सफल हुँदाको खुशी भन्दा बढ्ताजस्तो देखिन्थ्यो ।
केही हप्तादेखि नेपालगञ्ज रंगशालाको बर्मुडा दुबोमा बच्चाहरु रमाएको दृश्य साँच्चै लोभलाग्दो छ । बाँके जिल्ला फुटबल संघले आठदेखि १३ वर्षका बालबालिकालाई मैदानमा उतारेको छ । ‘ग्रासरुट फुटबल लिग’का लागि बालबालिकाहरु मैदानमा उत्रिएका हुन् । आठ वटा स्कूलका तीन सय ८ जना बालबालिका फरक–फरक पोशाकमा उत्रिदा मैदान थरी–थरी फूलको बगैचाजस्तो देखिन्थ्यो ।
कुनै पनि खेलको विकास गर्ने हो भने ग्रासरुटमै जानु पर्छ । यो सबै अगुवा वा विज्ञले बुझेको कुरा हो । एन्फाले पछिल्लो पटक आफू आवद्ध सबै जिल्ला संघ (४७ वटा) लाई ग्रासरुट फुटबल लिग गराउन निर्देशन दिएको थियो । बाँकेमा त्यसको समापन गरिसकेको छ । त्यसै पनि एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले ग्रासरुट प्रशिक्षण समय–समयमा दिदै आइरहेका थिए । ‘बच्चाहरु फुटबल खेल्न पाउदा कति खुशी छन् देख्नु भयो ?’ संघका अध्यक्ष शाहीले भनिरहदा बच्चासँगै उनकै अनुहार खुशीले धपक्क थियो ।
शुक्रबार र शनिबार अनि बिदाको दिन पारेर एक महिनासम्म ग्रासरुट फुटबल प्रतियोगिता गराएको अध्यक्ष शाहीले बताउनुभयो । आठदेखि दश वर्षको बालकको एउटा टीम, दशदेखि तेह्र वर्षका बालक र बालिकाको एउटा÷एउटा टीम तयार पार्ने एन्फाको रणनीति रहेको छ । एन्फा बाँकेले यो केन्द्रको कार्यक्रमका साथै आफ्नै अगुवाईमा बाह्रैमास ग्रासरुट प्रशिक्षण दिने तयारी गरिरहेको छ । त्यसको लागि नेपालगञ्जको वडा नं. १, धम्बोझीमा मैदान तयार हुँदैछ । धम्बोझीको मैदान बनिरहदा नेपालगञ्ज रंगशालामै हरेक हप्ताको शुक्रबार र शनिबार दुई दिन ग्रासरुट प्रशिक्षण दिएको शाहीले जानकारी दिनुभयो । तीन सय आठ जना बालबालिका फुटबलमा रमाएका थिए । यी बालबालिकालाई पायक पर्ने ठाउँमा प्रशिक्षण गराउदा एन्फा बाँकेले प्राविधिक सहयोग गर्ने अध्यक्ष शाहीले बताउनुभयो । रंगशाला र धम्बोझीमा भने बाह्रैमास ग्रासरुट प्रशिक्षणको तयारी भइरहेको छ ।
ग्रासरुट लिगमा दीपज्योती सेकेन्डरी स्कूल, चिसापानी, जनज्योती पब्लिक हाइस्कूल, कोहलपुर, नेपालगञ्ज मोडेल एकेडेमी, ग्रिनपिस सेकेन्डरी स्कूल, कोहलपुर, जुनियर आइस्टाइनस एकेडेमी, नेपालगञ्ज, होप इन्टरनेशनल एकेडेमी, नेपालगञ्ज, स्टार फ्यूचर स्कूल, नेपालगञ्ज र एबीसी रेसिडेण्टल स्कूल, नेपालगञ्जले भाग लिएका थिए ।