कोरोना जितेका वडाध्यक्ष रिजालले दिए रगत

नेपालगञ्ज – कोरोना लागेर निको भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कोरोनाका बिरामीलाई रगत दिनु भएको छ ।
कोरोनाका बिरामीलाई रगत आवश्यक परेमा निको भइसकेका व्यक्तिले दिंदा राम्रो हुने भएकाले बाँकेमा पहिलो पटक वडाध्यक्ष रिजालले रक्तदान गर्नु भएको हो । कोरोना निको भएका व्यक्तिले रगत दिएर कोरोना संक्रमितको उपचार गर्ने विधिलाई प्लाज्मा थेरापी विधि भन्ने गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले प्लाज्मा थेरापी विधिबाट बाँकेमा संक्रमितको उपचार शुरु भएको बताउनुभयो ।
सल्यानका बिरामीलाई रगत आवश्यक परेकाले वडाध्यक्ष रिजालले रगत दिनु भएको हो । कोरोना निको भएका व्यक्तिले १४ दिनपछि रगत दिन सक्छन् । प्लाज्मा थेरापी विधिबाट उपचारका लागि कोरोना निको भएका व्यक्तिलाई रगत दान गर्न आग्रह गर्ने गरिएको छ । बाँकेमा ७ सय ३० जना कोरोनाबाट निको भइसकेका छन् । रगत दिनेमा भने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजाल पर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !