‘खाना अभियानले गुन नै लगायो’
कोहलपुर – कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम खत्रीले माइती नेपालले सञ्चालन गरेको खाना अभियानले कोरोनाका कारण समस्या परेका विपन्न वर्गलाई ठूलो राहत पुगेको बताउनु भएको छ ।
कोहलपुरको वडा नं. ८ को नयाँबस्तीमा सञ्चालन गरिएको खाना अभियानको उद्घाटन गर्दै अध्यक्ष खत्रीले मजदुरी गरेर खाने विपन्न परिवारलाई खाना अभियानले गुन नै लगाएको बताउनुभयो ।
माइती नेपालले जिल्लाका विभिन्न वडामा विपन्न वर्गलाई एक छाक खाना खुवाइरहेको छ । यो अभियान आज ४४ औं दिन पुगेको छ ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, चवालिसौं दिनसम्म आइपुग्दा एघार हजार नौ सय पाँच छाक खाना वितरण गरिएको छ ।
नयाँबस्तीको खाना अभियानमा कोहलपुर नगरपालिका विधायन समितिका संयोजक एवं वडा सदस्य भीमबहादुर नेपाली, वडा सदस्यहरु चाँदनी लामा, जसे चदारा, प्रेम कामीलगायतको उपस्थिति रहेको थियो ।