सुटकेसले ‘आतंक’

नेपालगञ्ज – नेपालगञ्जको त्रिवेणीमोडमा कसैले आफ्नो सुटकेस भुल्दा राती चार घण्टा खैलाबैला भएको छ ।
पसल अगाडिको खाटमा लामो समयसम्म सुटकेस रहदा वरिपरि त्रास नै भयो । खासमा त्यो सुटकेस कसको थियो, कतिबेला छोडेका थिए, किन छोडे ? साँच्चै भुलेका थिए कि बोक्न समस्या भएर छोडेर हिडेका थिए ? यावत प्रश्न उब्जिरहदा आसपासका बासिन्दा र सुरक्षाकर्मीलाई भने चार घण्टाजति सुटकेसले दुःख दिएको थियो ।
पसलेले पसल बन्द गरेर गइसकेपछि बाहिर सुटकेस देखिएपछि स्थानीयले प्रहरी र प्रहरीले पसल सञ्चालकलाई सामान छुटेको खबर गरेका थिए । जब पसलेले आएर हेरे अनि आफ्नो नभएको बताएपछि सबैले दिमाग बमसम्म पु¥याए ।
प्रहरी हुँदै खबर सेनासम्म पुग्यो । सेनाले बमकै आशंकामा डिस्पोज गर्नुअघिका कार्य गर्दै थिए । केहीबेरमा हुकले चेन खोलियो । सुटकेस खुल्यो । सुटकेसभित्र कपडा थियो । अस्पतालको कागजपत्रहरु थिए । यी सामान देखिएपछि कुनै बिरामीको सुटकेस हो भन्ने लाग्थ्यो ।
राती ११ बजेपछि सुटकेसको वास्तविकता खुल्दा सबै दंग परे । एक जना बिरामीले आफ्नो सुटकेस भुल्दा वा छोड्दा यत्रो त्रास सिर्जना भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !