पसल खोल्नेलाई समातेर क्वारेन्टाइन लैजादै सिडिओ र एसपी

नेपालगञ्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाइकल चलाएका केही व्यक्तिलाई समातेर प्रहरीको भ्यानमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निषेधाज्ञाको अवज्ञा गर्ने पसलेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन थालेको बताउनुभयो । ‘निषेधाज्ञा उल्लंघन भयो । पसलहरु खोलिए । अहिले हामीले न्यूरोड क्षेत्रबाट पसल खोल्नेहरुलाई समातेर क्वारेन्टाइनमा लैजादैछौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पठाउँछौं ।’
नियन्त्रणमा लिइएका पसले, अटोरिक्सा र मोटरसाइकल चालकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लैजाने तयारी भएको छ । स्थानीय प्रशासनले गएको शनिबार रातीदेखि आगामी शनिबार रातीसम्म निषेधाज्ञा लागु गरेको छ । धेरैले कि निषेधाज्ञा कडाई गर्न या हटाउन माग गरेपछि प्रमुख जिल्ला अधिकारी र एसपी आफै सडकमा निस्केका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !