भारतबाट आएकाहरु जनप्रतिनिधिको रोहबरमा सिधैं ‘घर’

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिकाले भारतबाट आएका आफ्ना ठाउँवासीलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा सिधैं घर पठाउने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँके र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले एक गाउँपालिकामा एक÷एक वटा आइसोलेसन सेन्टर र क्वारेन्टाइन तयारीमा अवस्थामा राख्न र भारतबाट आएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बसाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै गाउँपालिकाको बोर्ड बैठकले भारतबाट आएकालाई वनकटवा स्वास्थ्य केन्द्रमा ल्याएर लक्षण जाँच गर्ने र लक्षण नदेखिएका व्यक्तिलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा घरमा पठाउने निर्णय गरेको हो । लक्षण देखिएकालाई स्वास्थ्य केन्द्र परिसरमै रहेको भवनमा राख्ने भनिएपनि अहिलेसम्म त्यहाँ कोही बसेको रेडर्क छैन ।
स्कूलमा बनाइएका क्वारेन्टाइनहरु असार तेस्रो हप्ता खाली गरिसकेपछि बैजनाथलगायत जिल्लाका केही पालिकामा भारतबाट आएकाहरु सिधैं गइरहेका थिए । जिल्लामा फेरि कोरोनाका बिरामी बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले साउन ५ गते सबै पालिकालाई अनिवार्य रुपमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउन र भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्न पत्राचार गरेको थियो ।
त्यो पत्राचार पछि बैजनाथको बोर्ड बैठकले स्थानीय जनप्रतिनिधिको रोहबरमा भारतबाट आएकालाई घर पठाउने निर्णय गरेको हो । पालिकाका स्वास्थ्य शाखाका प्रमुख लक्ष्मणराज शाहीले भारतबाट आएका व्यक्तिलाई वनकटवा स्वास्थ्य केन्द्रमा ल्याएर जाँच गर्ने र लक्षण नदेखिएकालाई परामर्शसहित स्थानीय जनप्रतिनिधिको निगरानीमा घरमा पठाउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, भारतबाट आएर सिधैं होम क्वारेन्टाइनमा पुगेका अहिले १५ जना जति छन् । तर, जिल्लाका अधिकारीहरु बैजनाथमा क्वारेन्टाइन बन्द गरेपछि सय बढी मानिस भारतबाट भित्रिएको दावी गर्छन् ।
बैजनाथमा अहिले भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न समस्या पनि देखिएको छ । असार तेस्रो सातादेखि साउन दोस्रो सातासम्म भारतबाट आएकाहरु सिधैं घरमा पुगेका थिए । अहिले भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालियो भने उसलाई किन राखिएन, हामीलाई किन क्वारेन्टाइनमा राखियो भनेर विवाद बढ्ने जानकारहरु बताउँछन् ।
भारतमा पनि दैनिक ठूलो संख्यामा कोरोना संक्रमण देखिरहेको र भारतबाट आउने व्यक्तिलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएमा कोरोनाको जोखिम कम हुने सम्बद्धहरु बताउँछन् । क्वारेन्टाइन नबनाएको बैजनाथमा मात्रै देखिएपनि क्वारेन्टाइन बनाएका अरु पालिकाले भारतबाट आएकालाई कडाई साथ क्वारेन्टाइन राख्न सकेकोमा शंका गर्नेहरु धेरै देखिन्छन् ।


error: यो सुविधा उपलब्ध छैन !