सिक्टामा पप्पुको बदमासी
नेपालगञ्ज – सिक्टा सिंचाई आयोजनाअन्तर्गतको डुडुवा नहर निर्माणको काम २ बर्षदेखि ठप्प भएको छ ।
सिक्टाको मुल नहरबाट १८ हजार लिटर प्रति–सेकेन्ड पानी डुडुवा शाखा नहरमा छाडेर बाँके जिल्लाको डुडुवा, नेपालगञ्ज, जानकी र खजुरा क्षेत्रको करिब १६ हजार हेक्टरमा सिंचाई सुबिधा पुराउनका लागि साढे २३ किलोमिटर लामो डुडुवा नहर निर्माण गर्ने ठेक्का कोस्टाल पप्पु कन्स्ट्रक्सनले लिएको थियो ।
२०७३ जेठदेखि काम सुरु गरी ०७५ पुस ४ सम्म पूरा गर्ने गरी ठेक्का लिएको कोष्टल पप्पुजेभीले ठेक्काको समयावधि सकिँदा ७ प्रतिशत मात्रै काम गर्यो ।
नहर निर्माणको काममा ढिलाइ गरेको जनाउदै सिक्टा सिंचाई आयोजनाले २०७५ मंसिरमा कोस्टाल पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेर कालो सूचीमा राख्न सिफरिस गर्यो । आयोजनाले ठेक्का तोडेर कालो सूचीमा राख्नका लागि सिफारिस गरे पछि कोस्टाल पप्पु कन्स्ट्रक्सनले आयोजनाका बिरुद्ध उच्च अदालत नेपालगञ्ज, उच्च अदालत पाटन, मध्यस्तता परिषद हुँदै सर्बोच्व अदालतमा मुद्दा दायर गरेको छ । आयोजना र निर्माण कम्पनी बिच २ बर्षदेखि मुद्दा मामिला चलि रहेको छ । मुद्दाको किनारा लागेर नहर निर्माणको काम कहिलेदेखि सुरु हुने हो भन्ने अझै यकिन भई सकेको छैन ।
पप्पु कन्स्ट्रक्सन समयमा काम नगर्ने र ठेक्का तोडिए पछि मुद्दा मामिला गरेर आयोजनाको काममा बाधा अबरोध सर्जना गर्ने कम्पनीको रुपमा बदनाम छ । निर्माण कम्पनीको बदमासीका कारण करिब १ अर्बको लागतमा निर्माण सुरु भएको डुडुवा नहर निर्माणको काम २०७५ मंसिर देखि पूर्ण रुपमा ठप्प छ । २ बर्षदेखि डुडुवा शाखा नहर निर्माणको काम अपलत्र हुँदा डुडुवा नहर किनाराका किसानहरु समस्यामा परेका छन् । किसानहरुले जेनतेन आकाशेपानीको भरमा धान रोपाई त सकेका छन् । तर, किसानले खेतमा रोपेको धान सिंचाईको सुबिधा नहँुदा फल्ने हो कि हो कि होइन भन्ने चिन्ता कायमै छ । डुडुवा नहरको काम जति सक्यो छिटो सुरु गरेर किसानको खेतबारीसम्म पानी पुग्ने ब्यबस्था मिलाउनु पर्ने सिक्टा सिंचाई आयोजना जल उपभोक्ता संघका अध्यक्ष शालिकराम डाँगीले बताउनुभयो ।
सिक्टा सिंचाई आयोजनाको करिब ४५ किलोमिटर लामो पश्चिमी मुल नहरको निर्माण सम्पन्न भइसकेको छ । सिक्टाको अगैयास्थित ब्यारेजबाट मुल नहर हुँदै किसानको खेतबारीमा पानी पुराउने उद्देश्यले निर्माण सुरु भएको डुडुवा शाखा नहर निर्माणमा ढिलाई हुँदा मुल नहरमा आएको पानी किसानको खेतबारीसम्म पुराउन समस्या भएको आयोजनाका प्रमुख लोक बहादुर थापाले बताउनुभयो ।
आर्थिक वर्ष २०७६ ÷०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा पुरा गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म ब्यारेज तथा पश्चिम क्षेत्रको मुल नहर निर्माणको काम सम्पन्न भए पनि शाखा नहरको निर्माणको कामले गति लिन सकेको छैन ।
बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्ष अघि निर्माण सुरु भएको थियो । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा हालसम्म करिब १७ अर्ब रुपैया खर्च भइसक्दा काम भने करिब ६५ प्रतिशत मात्रै पुरा भएको छ ।