कोरा नगरे के साइकले ?
खजुरा – साइकलका गतिविधि संसारभर बढिरहेको छ । युरोप, अमेरिका र बेलायत मात्र होइन, एशियाली मुलुकमा पनि यतिबेला साइकलको प्रयोगमा बढोत्तरी भएको छ । यसको प्रभावबाट नेपाल पनि अछुतो हुने कुरै भएन, नेपालमा पनि साइकलको प्रयोग बढ्यो नै ।
नेपालगञ्ज शहर पनि अहिले साइकललाई आफ्नो परिचय बनाउने तर्फ उन्मुख छ । यसैबीच गतबर्षदेखि नेपालगञ्जमा शुरु गरिएको नेपालगञ्ज कोराको दोस्रो सिरिज यसपटक पनि सम्पन्न भयो । औपचारिक रूपमा भब्य समारोह र तामझाम सहित गरिएन, यसपटक नेपालगञ्ज कोरा २०२० तर पनि ८० जना भन्दा बढिले यो कार्यक्रममा नेपालगञ्जबाट सहभागिता जनाए । कोरा तिब्बती भाषाको शब्द हो । यसको अर्थ हुन्छ ‘परिक्रमा’ अर्थात मठमन्दिर, चैत्य, गुम्बा, मस्जिद, गुरुद्वारा, चर्चलगायतका धार्मिक क्षेत्रको साइकलबाट परिक्रमा गर्नु । कोरा आयोजना गरिदा सबै धार्मिक क्षेत्रहरू पर्ने गरि रुट तय गरिन्छ तर यसपटक अलिकति पृथक शैलीमा यो कार्यक्रम सम्पन्न गरियो, जसको कारण थियो कोरोना को कहर । हामीले साइकलमा कोभिड–१९ सँग सम्बन्धित सचेतनाका नारा र चित्र साइकलमा झुन्ड्याएर गाउँ बस्ती हुँदै कोरा गरियो । सानो सानो समूह बनाएर नेपालगञ्जमा सक्रिय साइक्लिस्टहरु विभिन्न ठाउँमा पुगे । ५ जनाको समूहको नेतृत्व गर्दै नेपालगञ्ज बागेश्वरी मन्दिरबाट कोरा राइड शुरु गरेका पुष्कर हमालको समूहले कैलालीको चिसापानी कर्णाली पुल पुगेर नेपालगञ्ज फर्कियो । फर्किदै गर्दा राती खजुरामा भेटिएका पुष्कर बेस्सरी थाकेका थिए तर उनमा गज्जबको खुशी र उत्साह पनि थियो । मैले पुष्करसहित उनको समूहमा सहभागी सबैलाई बधाई दिए । त्यस्तै नेपालकै सबैभन्दा भन्दा लामो पुल बर्दिया कोठियाघाटको लामो पुल म सहित लवराज श्रेष्ठ, राजेश गुप्ता, किरण श्रेष्ठको समूह पुगियो र हामीले १ सय ३० किलोमिटरको यात्रा पुरा गरियो । अर्को समूह पनि कोठियाघाट पुग्यो जसमा बिमलेश कुमार यादव, जितु चौहान, राधेश्याम चौधरी र बिवेक यादव सहभागी थिए भने ५ जना किशोरीहरु अन्बेसा सिंह, काजोल आले, साया थापा, पार्बती सार्की र सीता सार्कीले पनि नेपालगञ्ज कोरा अन्तर्गत सय किलोमिटरको यात्रा पुरा गरे ।
कोरामा सहभागिता जनाउने कतिपय पहिलोपटक साइकल कुदाउनेहरुसमेत थिए भने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमहानगर वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल, राझा स्थित ४ नं. बाहिनीका जर्नेल सुरेश बानियाँ, डाक्टर सुरेश कुमार कनोडिया, डाक्टर प्रकाश थापा, डाक्टर बद्री चापागाईं, डाक्टर मधु अर्याल, डाक्टर पन्कज गुप्ता र डाक्टर सुबास योगीले समेत नेपालगञ्ज कोरामा सहभागी भए । यसरी सम्पूर्ण साइकल राइडरहरुको यात्राको जोड निकाल्ने हो भने करिब–करिब नेपालगञ्जको टिमले कोरा राइड अन्तर्गत ६ हजार किलोमिटरको दुरि पार गरेको अनुमान मैले गरेको छु ।
साइक्लिस्टहरुका लागी कोरा एउटा महत्वपूर्ण पर्व जस्तै साबित भएको छ । पछिल्लो बर्षहरुमा हरेक साइक्लिस्टको चाहना कोरामा सहभागिता जनाउने हुने गर्दछ । कोरा नगरे के साइकले पनि भन्ने गरिन्छ । यसपटक पहिलोपटक दाङ र जुम्ला अनि धनगढीमा समेत कोरा भयो र नेपालका प्रायः प्रमुख शहरहरु धरान, उदयपुर, झापा, बिराटनगर, बुटवल, नेपालगञ्ज, सुर्खेत, काठमाडौ, भक्तपुर, ललितपुरमा त कोरा भयो नै बिदेशमा बस्ने नेपालीहरु र बिदेशी समेतले आ–आफू बसेका देशमा कोरा २०२० मा सहभागिता जनाए ।
नेपाल बाहिर बैंकक, सिंगापुर, कोचिन, सिलोङ, बर्लिन, बर्मेन, डेनमार्क र अमेरिकामा समेत कोरा भयो । नेपालमा कोरा को शुरूवात गर्ने आदरणीय ब्याक्तित्व हुनुहुन्छ, राज ज्ञावाली नेपालगञ्जबाट २०१८ को कोरामा पहिलोपटक गगन थापाजी र म हेटौंडा कोरामा सहभागिता जनाइयो र गतबर्ष २०१९ बाट नेपालगञ्जमा समेत यसको आयोजनाले निरन्तरता पाएको छ । देश बिदेश सबै तिर यसपटक ‘माइ कोरा च्यालेन्ज’ भनेर आयोजना गरिएको कोरा २०२० मा सहभागी हुने सबैलाई धन्यवाद ।