मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना
नेपालगञ्ज – स्थानीय प्रशासनले बाहिर हिड्दा मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको बताउनुभयो । ‘मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रुपैया जरिवाना गर्ने तयारीमा छौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, ‘पर्सीबाट यो निर्णय लागु हुन्छ ।’
कोरोनाको जोखिम रहेकै बेला नेपालगञ्जमा सावधानी अपनाएको देखिदैन । बजारमा हिड्ने धेरैजसोले मास्क लगाएको पाइदैन । गृहमन्त्रालयले नै मास्क नलगाई हिड्नेलाई कारबाही गर्ने नीति अघि सारेपछि बाँके प्रशासनले ठाउँको ठाउँ जरिवाना गर्ने तयारी गरेको हो ।
सरकारले भीडभाड र सामाजिक दुरी कायम नहुने भन्दै यात्रुवाहक सवारी साधन, होटल रेष्टुरेन्टहरु खोल्न दिएको छैन । बजारमा हिड्नेलाई पनि सामाजिक दुरी कायम गर्न, मास्क लगाउन भनिएको छ । नेपालगञ्जमा भने त्यसको पालना गरेको देखिदैन ।
बाँकेमा आइसोलेसन सेन्टर र क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् । यद्यपि, फाटफुट रुपमा कोरोना देखिन छोडेको छैन । मान्छेको मनमा कोरोनाको डर हराउँदै गएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले हावाबाट कोरोना सर्ने चेतावनी दिइरहेको बेलामा बाहिर हिड्दा मास्क लगाउनु जरुरी देखिन्छ ।