पार्टी एकताका लागि ज्ञापन
नेपालगञ्ज – पार्टी एकताका लागि नेकपाका युवा विद्यार्थीले ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय युवा संघ, अनेरास्ववियु आवद्ध युवा विद्यार्थीले नेपालगञ्जस्थित पार्टी कार्यालयमा आएर केन्द्रीय सदस्य मो. हारुन, जिल्ला सचिव अशोक कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । ‘पार्टी फुट्नु हुँदैन, यसका लागि युवा विद्यार्थीले खबर गर्नुपर्ने बेला आएको छ, पार्टी फुटेमा जनताप्रति धोका हुनेछ,’ ज्ञापनपत्रमा भनिएको छ ।
‘तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौ, व्यक्ति होइन, नीति प्रधान पार्टी निर्माण गरौं, फुटवादीहरु होसियार’ युवा विद्यार्थीले भनेका छन् । युवा विद्यार्थीहरु किशोर थापा, कुश्माखर बस्याल, आकाश कार्की, सुरेन्द्रजंग शाहलगायतले ज्ञापनपत्र बुझाएका हुन् । जिल्लाका नेताहरु निरक गुरुङ, रत्न खत्री, अब्दुल हुसेन, दीपक जीएमलगायतको उपस्थिति थियो ।
केन्द्रमा नेताहरु पक्ष विपक्ष हुँदा जिल्ला तहमा पनि त्यसको प्रभाव परेको देखिन्छ । दुई दिनअघि प्रधानमन्त्रीको समर्थनमा पार्टी कार्यालयमा धर्ना दिइएको थियो । त्यसपछि जिल्ला अध्यक्ष र सचिवले विज्ञप्ती निकालेर एकतामा जोड दिएका थिए ।