केपी ओलीको पक्षमा धर्ना
नेपालगञ्ज – ‘वर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं’ भन्दै नेपालगञ्जमा नेकपाका कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
जिल्लाका विभिन्न ठाउँबाट आएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता तथा कार्यकर्ताहरु नेपालगञ्जस्थित पार्टी कार्यालय अगाडि उभिएर सरकार र पार्टी एकताको पक्षमा धर्ना दिएका हुन् । पार्टीका दुई अध्यक्षको फोटोसहितको ब्यानरमुनी बसेका नेता तथा कार्यकर्ताले ‘नेकपा जिन्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, एकता भाँड्न पाइदैन, पार्टी फुटाउने नेता चाहिदैन, लिम्पियाधुरा छोडिन्न, पार्टी एकता तोडिन्न, दीगो शान्ति कायम गर, दलालहरुलाई कारबाही गर’लेखेका प्लेकार्ड भिरेका थिए ।
जिल्ला कमिटिका सचिवालय सदस्य निरक गुरुङले पार्टी एकता, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनका लागि यो सरकारको निरन्तरता हुनु पर्ने बताउनुभयो ।
प्रदेश कमिटि बेदनिधि प्याकुरेल, पुजन विश्वकर्मा, रामदास थारु, डम्बर सुवेदी, जिल्ला कमिटि सचिवालय सदस्य प्रमोद धिताल, सूर्य ढकाल, हलिल शाह, तेजकुमार धिताल, अशोक कर्माचार्य, किस्मत कक्षपति, चन्द्र चौधरी, घननाथ खनाललगायतको उपस्थिति थियो ।
पार्टीको जिल्ला नेतृत्वले यसप्रकारको कार्यक्रम नगर्न आग्रह गरेको थियो ।