बाणिज्य बैंकका अर्का कर्मचारी पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा बैंकका थप एक जना कर्मचारी पक्राउ परेका हुन् । बैंकका ऋण सिफारिस समितिका सदस्य रहेका कलबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो । असार १२ गते नै बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । सुनचाँदी व्यवसायी जसगढलाई प्रहरीले जेठ २७ गते नै पक्राउ गरेको थियो ।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जादा त्रिभुवनचोक शाखाका कर्मचारी तानिदै गएका छन् । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ । बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आकलन छ ।
सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर एक करोड २५ लाख ऋण लिएका थिए । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख लिएका थिए ।