खाना अभियानमा वडा सदस्य
नेपालगञ्ज – नेपालगञ्जका एक जना वडा सदस्यले विपन्नलाई बाँडिएको खाना सँगै बसेर खाएर सकारात्मक सन्देश दिएका छन् ।
माइती नेपालले बाँकेमा शुरु गरेको एक छाक खाना अभियानका क्रममा बुधबार १२ नम्बर वडामा बितरण गर्न तयार गरिएको खाना सबैका अगाडी बसी खाएर वडा सदस्य तरुण बज्राचार्यले सकारात्मक सन्देश दिनुभएको हो ।
‘वडा सदस्य ठूलो मान्छे नभएर वडाबासीको सुख दुःखमा साथ दिने व्यक्ति हो, जनतालाई बितरण गरिएको खाना गुणस्तरीय रहेको भन्ने कुरा वडा सदस्य बज्राचार्यले खाएर देखाइदिनु भएको छ, माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले भन्नुभयो, सबैका अगाडी खाना खाएर जनताको स्वास्थ्यसंँग खेलवाड नगरी राम्रो खाना बितरण गरिएको भन्ने सन्देश प्रवाह गर्नुभएको छ ।’
अहिलेको बिषम परिस्थितिमा विपन्नलाई खानाको जोहो गर्न समस्या भएको छ । यस्ता व्यक्तिलाई एक छाक खाना खुवाएर माइती नेपालले सहयोग गरिरहेको छ ।
अभियानको दोस्रो दिन नेपालगञ्जका दुई सय ७७ जनालाई खाना बितरण गरिएको संयोजक कोइरालाले जानकारी दिनुभयो । मंगलबारदेखि शुरु भएको अभियानको पहिलो दिन मंगलबार नेपालगञ्जमा तीन सय ३० जनालाई खाना बितरण गरिएको थियो । बितरण गरिने खाना सामुदायिक भान्छामा तयार गर्ने गरिएको छ ।