विपन्नलाई माइती नेपालको खाना
नेपालगञ्ज – माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलबारदेखि बिहानको एक छाक खाना अभियान शुरु गरेको हो ।
लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारमा समस्या थपिएको छ । बर्तमान अवस्थामा बजार, व्यवसाय सञ्चालन भए पनि गरिब बिपन्न परिवारलाई जीवन निर्वाह गर्न गाह्रो भइरहेको छ । समस्यामा परेका परिवार, व्यक्तिका लागि एक छाक खाना अभियान सञ्चालन गरेको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । ‘पहिलाकै जस्तै पूर्णरुपमा सबैको जीवनचर्या फर्किसकेको छैन । यो समय अन्य कुरामा पनि गरिब बिपन्न परिवारलाई गाह्रो भएको छ,’ संयोजक कोइरालाले भन्नुभयो, यस अवस्थामा बाँच्नका लागि चाहिने खानाको जोहो गर्न समेत कठिन भएकाले बिहानको एक छाक खाना अभियान सञ्चालन गरेका हौं ।’
यो अभियान जिल्लाको बिभिन्न क्षेत्रमा सञ्चालन गरिनेछ । यसमा खासगरी महिला तथा बालबालिकालाई बिहानको एक छाना खाना दिने गरिएको छ । माइती नेपाल, युएन ओमनको सहयोग र स्थानीय सरकारको सहकार्यमा सामुदायिक भान्छाद्वारा तयार गरिएको पौष्टिक खाना बितरण थालिएको संस्थाले जनाएको छ । एक छाक खाना अभियानमा दैनिक दुई सय ५० जनालाई खाना खुवाइने संयोजक कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार, बाँकेका करिब १४ हजार बढी महिला तथा बालबालिकाहरुलाई खाना खुवाइनेछ । अभियानको पहिलो दिन मंगलबार नेपालगञ्जका तीन स्थानमा खाना बितरण गरिएको छ । मंगलबार बिहान नेपालगञ्ज क्वारेन्टिनमा ६० जना, वडा न.ं १२ बेलासपुरमा एक सय ८५ जना र निलसागर बृद्धाश्रममा ८५ जनालाई गरी तीन सय ३० जनालाई खाना उपलब्ध गराइएको छ ।
खाना बितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।