त्यो भव्य स्वागत
क्रमशः
बाँकेका ससाना स्कुले मैदानबाट सुरु भएको महिला क्रिकेट अन्तर्राष्ट्रिय प्रतियोगिताको उपविजेता भएर फर्किंदै थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो स्वागत गरियो । २० जुलाईको बिहान क्यानका अध्यक्ष पाण्डे सरसहित क्रिकेटका अधिकारीहरू र समर्थकहरूको न्यानो स्वागतले हामी निकै हर्षित थियौँ, नयाँ ऊर्जा पलाएझैँ भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव जीवनराम श्रेष्ठले टोलीको सम्मान गर्दै नगद पुरस्कार घोषणा गरे ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले गरेको सम्मान त्यसै पनि अर्थपूर्ण हुने नै भयो । त्यो ठूलो हौसला थियो । हामीले सँगै आईसीसी ग्लोबल अवार्ड ट्रफीका साथ तस्बिर खिचेका थियौँ । रोय डायस नेपालका लागि प्रमुख प्रशिक्षक थिए । नेपालले पुरुषतर्फ उमेर समूहमा राम्रो गरिरहेको थियो । रोय डायसले मलेसिया जानुअघि केही टिप्स दिएका थिए । नेपाली महिला क्रिकेटको सफल सुरुआतबाट उनी निकै खुसी थिए । राजधानीमा एकपछि अर्को स्वागत र सम्मानका निमन्त्रणा आइरहेका थिए । तर, खेलाडीहरूलाई भने गृहनगर जाने हतार थियो ।
बिहान काठमाडौँ ओर्लिएका हामी दिउसँो राखेपको सम्मान थापेर तितरवितर भयौँ । लामो समय घर नछाडेका नानीहरूलाई नियास्रो लाग्नु स्वाभाविकै थियो । अर्कोतर्फ विदेशी भूमिमा जितेको खुसीको पहिलो हकदार आफ्ना अभिभावकलाई ठानेका थिए । खुसी भन्ने चिज नै बेग्लै हुँदो रहेछ । खुसी साट्न पनि घरपरिवार र साथीसङ्गीहरू नै चाहिने रहेछ । हाम्रा चेलीहरू पनि त्यो खुसी साट्न आतुर थिए ।
हामी अर्को दिन रात्रिबस चढेर नेपालगन्ज हिड्यौँ। काठमाडौ ओर्लिनासाथ गृहजिल्लाबाट बधाईका फोन आएका आयै थिए । अरू जिल्लाका साथीले पनि फोन गरिरहेका थिए । महिला क्रिकेटको उद्गमथलो बाँकेमा स्वागतको विशेष तयारी गरिएको थाहा पायौँ । भोलिपल्ट बिहानै चपरगौडीमै ओर्लिन साथीहरूले भनेका थिए । गृहजिल्लामा पहिलो स्वागत त्यहीँ गर्ने तालिका बनेको रहेछ । क्रिकेट पदाधिकारी, पत्रकार र धेरै शुभेच्छुकहरू चपरगौडीमा पर्खेर बसेका थिए । जिल्लाबासीका लागि यो पक्कै बहुप्रतीक्षित क्षण थियो । बाँकेबाट सुरु क्रिकेटले समग्र राष्ट्रलाई गौरवान्वित गराएको थियो । अभिभावकहरू विदेशी भूमिमा पुगेर देशको झन्डा फहराएका छोरीहरू भेट्न आतुर थिए । चपरगौडीमा पाइला टेकेका मात्र थियौँ, फोटो खिच्न तँछाडमछाड भइहाल्यो । ठूलो युद्ध जितेर फर्किएका सिपाहीलाई झैँ भव्य स्वागत गरिएको थियो । नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको रहेछ । सिँगारिएको गाडीमा टोलीलाई चढाइयो । नेपालगन्जको पुष्पलाल चोकमा विभिन्न विद्यालयका विद्यार्थीहरू स्वागतका लागि लामबद्ध भइसकेका थिए । नेपाल प्रहरीको ब्यान्ड अघिअघि, विभिन्न खेलका खेलाडी, स्कुले विद्यार्थी, खेल अधिकारीहरूको बीचमा दुलहीझैँ सिगाँरिएको गाडीमा खेलाडी र पदाधिकारीलाई राखिएको थियो । धम्बोझीचोक, घरबारीटोल, त्रिवेणी मोड, त्रिभुवन चोक हुँदै स्वागत ¥याली रङ्गाशालामा पुगेर टुङ्गिएको थियो । हाम्रा कलिला क्रिकेटर नानीहरू रातारात सेलिब्रिटी बनेका थिए । रङ्गशालामा उनीहरूलाई फोटो खिचाउन उस्तै भ्याइनभ्याइ थियो । लाग्यो, समाज र देशका लागि केही गरे समाजले अवश्य सम्झिँदो रहेछ । आफ्नी छोरीको पौरखको त्यो खुसीमा सामेल हुन कुनचाहिँ अभिभावकले छुटाउला ? सबै फूलको माला, खादा र अबिर लिएर स्वागतमा आएका थिए । उनीहरूले छोरीभन्दा धेरै मलाई बधाई दिइरहेका थिए । त्यो मेरा लागि ठूलो सम्मान थियो । तर, मैले सबैसँग भनेँ, ‘हामीले बाटो देखाएको मात्र हो । प्रतिभा, खेल र उपलब्धि त उनीहरूले नै जितेका हुन् ।’
यो सबै दृश्य देखेर लाग्यो, महिला क्रिकेटको अभियान थालेर जीवनमा एक्लै पूरा गर्न नसकेका धेरै सपना पूरा गर्न सकेँ । त्यसै दिन पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पनि हाम्रो स्वागत गरे, बधाई तथा शुभकामना दिए । उनी त्यतिबेला काङ्ग्रेसका महामन्त्री थिए । नेपाल विद्यार्थी सङ्घले हाम्रो सम्मानमा राखेको कार्यक्रममा उनी मुख्य अतिथि थिए । त्यस्ता स्वागत र सम्मानका कार्यक्रमहरू साताव्यापी चलिरह्यो ।
निरन्तर सफलताको मार्गमा
सन् २००७ मा एसियाली क्रिकेट परिषद् (एसीसी)ले पहिलोपटक सिनियर महिलातर्फ मलेसियाको जोहरबारुमा प्रतियोगिता आयोजना ग¥यो, प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसिप । त्यसको सफलतापछि एसीसीले महिला क्रिकेटको सम्भावना देख्यो । उसले आफ्नै रोडम्याप तयार ग¥यो र अर्को वर्ष उमेर समूहको क्रिकेट सुरु गरिहाल्यो ।
एसीसीले पहिलोपटक २००८ मा प्रथम एसीसी अन्डर १९ प्रतियोगिता सुरु ग¥यो । त्यसैले थाइल्यान्डको चियाङ्घमाइ हाम्रो अर्को गन्तव्य बन्यो । हाम्रा प्रायः खेलाडी १९ वर्षमुनिकै थिए । यसका लागि अलग मिहिनेत गर्नुपर्ने थिएन । अध्यक्ष विनयराज पाण्डेले मलाई सोधे, ‘यी खेलाडीहरूले यू–१९ खेल्न सक्छन् ?’
मैले तत्काल जवाफ दिएँ, ‘आठ÷नौ जना त १९ वर्षमुनिकै छन् । त्यसैले टिम तयार गर्न गाह्रो छैन ।’
सहभागिता जनाउने सवालमा अन्योल देखिएका बेला मेरो जवाफले नेतृत्वलाई बल पुग्यो । भाग लिने निश्चित भयो । त्यो प्रतियोगितामा नेपालले भाग मात्र लिएन, टिमले च्याम्पियन ट्रफी नै उचाल्यो । नेरीले सफल कप्तानीमा आफूलाई प्रमाणित गरिन् । यसपटक पनि बाँकेका सात किशोरी नै टिममा थिए । यत्ति हो, मनीषाको ठाउँमा सरिता मगर थाइल्यान्ड पुगेकी थिइन् ।
सन् २००९ मा फेरि मलेसियामा दोसा्रे एसीसी महिला क्रिकेट च्याम्पियनसिप भयो । यसमा नेपालले तेस्रो स्थान हासिल गर्न मात्र सक्यो । यो बेला बैतडीकी रितु कनोजिया कप्तान थिइन् । सन् २०१० मा यू–१९ क्रिकेट सिङ्गापुरमा अयोजना गरियो । यसपटक नेपाल पुनः चम्कियो, विजेताको ट्रफी बोकेर फर्कियो । यो नेरीको तेस्रो कप्तानी थियो । सन् २०१० मै ग्वान्जाव एसियाडमा नेपालले सहभागिता जनायो । त्यो हाम्रा लागि अनुभव बटुल्ने अवसर मात्र बन्यो । सन् २०११ मा तेस्रो एसीसी महिला च्याम्पियनसिप कुबेतमा भयो । यो नेपाली सिनियर टिमका लागि चौथो प्रतियोगिता थियो । तर, खराब प्रदर्शनले यसपटक नेपालले चौथो स्थानमै चित्त बुझाउनु प¥यो । यतिबेला टोली कप्तानको जिम्मेवारी निरा राजोपाध्यायलाई दिइएको थियो । सन् २०१२ मा चीनमा एसिया कप आयोजना गरियो । नेपालले सन् २०१३ मा थाइल्यान्ड र सन् २०१४ मा कोरियामा एसिया कपमा निरन्तर सहभागिता जनायो ।
यसरी हेर्दा नेपालले सन् २०११ सम्म राम्रो गरेको देखिन्छ । मैले सन् २००९ तिर नेपाल क्रिकेट सङ्घबाट राजीनामा गरेँ । पछि सन् २०११ यता महिला क्रिकेट ओरालो लाग्यो । नेपाली महिला क्रिकेटले उपाधि जित्न सकेको छैन, औसत प्रदर्शनले क्रिकेट फ्यानहरूलाई निराश पार्दै आएको छ ।
सन् २०१८ मा आइपुग्दा हामीले जन्माएको, हुर्काएको महिला क्रिकेट सुस्ताएको छ । क्यानका जिम्मेवार साथीहरूले महिला क्रिकेटको अवधारणालाई राम्रोसँग आत्मसात् गर्न नसक्दा यो हविगत भएको मेरो बुझाइ छ । अहिले नेपाली राष्ट्रिय महिला टोलीको नेतृत्व रुबिना क्षत्रीले गरिरहेकी छन् । आरसीडब्लू, निरभाना क्रिकेट एकेडेमी दाङ जिल्ला क्रिकेट सङ्घ, मध्यपश्चिम क्रिकेट क्लव कोहलपुरले महिला क्रिकेटको विकास गर्ने आँट गरेछ भने रुबिनाको पहलमा महिला खेलाडी टिम बनाएर भारतका विभिन्न ठाउँमा आफैँ सहभागी भइरहेका छन् । कस्तो विडम्बना !
उकालो लाग्दै गरेको महिला क्रिकेट बीचमै अलपत्र बनेको देख्दा दुःख लाग्छ । त्यसको खास कारण त खेल कार्यतालिका र घरेलु प्रतियोगिता नहुनु नै हो । महिला क्रिकेटमा क्यानको कार्ययोजना, दूरदृष्टि, रणनीति, लक्ष्य नै भएन । राज्यले चासो देखाएन । यद्यपि, पछिल्लो समय राखेपले प्रधानमन्त्री कप आयोजना गर्दै आएको छ । एकाध प्रतियोगिता जिल्ला तहमै हुन्छन् तर स्कुलस्तरको क्रिकेट हुन छाडेको वर्षौं भइसकेको छ ।
पहिलो पुस्ताका नेरी थापामगर, रितु कनोजिया, सीता रानामगर, बिनु बुढामगर, सुस्मिता चौधरीले नै समग्र क्रिकेट धानिरहेका छन् । उनीहरूको पनि सामाजिक सुरक्षा छैन । नियमित तालिम, प्रशिक्षणको व्यवस्था छैन । तसर्थ, महिला क्रिकेट दिनानुदिन खस्किँदै गएको छ । देशको गौरव बढाउने खेल र त्यसमा लागेका खेलाडीलाई राज्यको हरेक निकायमा आरक्षण कोटाको व्यवस्था गर्नुपर्छ । यसले खेलाडीमा सामाजिक सुरक्षाको प्रत्याभूति गर्छ । जब खेलाडीले भविष्य सुरक्षित ठान्छन्, तब न देशका लागि खेल्छन् । खेलमा लगनशील भएर लाग्छन् । अहिले नेपालमा १७÷१८ वर्षका किशोरकिशोरीलाई खेलकुदमा लाग्न समस्या छैन । उनीहरू अभिभावकको भरमा हुन्छन् । जब, पढाइ सकिन थाल्छ, खेल मैदानमा होइन, रोजगारीको बाटो खोज्नुपर्ने बाध्यता आउँछ । त्यस्तो बेला राष्ट्रले उनीहरूलाई हेर्नुपर्छ । जसले जीवनका कलिला सपनाहरू खेलकुदबाट देख्यो, जवानी त्यसैमा खर्चियो । उसको भविष्यबारे राज्यले नहेरे कसले हेर्छ ?
विदेशमा खेलाडीहरू हराउने, मैदानबाट पलायन हुने समस्या रोक्नका लागि पनि स्पोर्ट्सको २० वर्षे कार्यनीति ल्याउनुपर्छ । राष्ट्रिय गौरव र राष्ट्रलाई सम्मान दिने खालको खेललाई प्रारम्भिक छनोट गरेर सरकारी सेवामा लगातार स्पोटर््स कोटा छुट्याउनु पर्छ । अहिले समावेशी, जनजाति, दलित, विभिन्न जातजाति र समुदायका लागि आरक्षण दिइरहेका छौँ । राष्ट्रको गौरव बढाउने खेलाडीलाई त्यस्तो आरक्षण किन नदिने ? हामीले खेलाडीलाई राष्ट्रका गहना भन्छौँ । त्यसलाई बोलीले होइन, व्यवहारले देखाउन पनि खेलाडी कोटा चाहिएको छ ।
सरकारी रोजगारीमा निश्चित कोटा छुट्याएर क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, मार्सल आर्ट्सलगायतका खेलाडीलाई जागिर दिन सके मात्र पनि राम्रा खेलाडी पलायन घट्छ । खेलमा आउनासाथ सबैले रोजगारी पाउनुपर्छ भन्ने होइन । तर, निश्चित मापदण्ड बनाएर प्रतिस्पर्धा गराउन सकिन्छ । यसले घरघरमा खेलकुदप्रति सकारात्मक भावना विकास हुन्छ । त्यसले नागरिकको स्वास्थ्य मात्र होइन, देशको गौरवलाई समेत अभिवृद्धि गर्नेछ ।
अहिले हाम्रो नारा स्वास्थ्यका लागि खेलकुद भन्ने छ । यो नारा परिमार्जन गरेर राष्ट्रका लागि खेलकुद बनाउनुपर्छ । किनभने, खेलकुद स्वास्थ्यका लागि मात्र पक्कै होइन । देशको झन्डा अन्तर्राष्ट्रिय मैदानमा फहराउने खेलकुदले नै हो । विदेशी भूमिमा सयौँ थुङ्गा फूलको राष्ट्रगान धुन अरू कुनै माध्यमबाट बज्दैन । त्यसैले खेलकुद राष्ट्रको गौरवसँग जोडिएको छ ।
राष्ट्रका लागि खेलकुद भनेर अघि बढ्न नीति निर्माण, लक्ष्य किटान र प्रस्ट कार्ययोजना भए पुनः महिला क्रिकेट अगाडि बढ्न सक्छ । अहिले दुर्भाग्य के छ भने क्रिकेट खेलको यो अवस्था भइसक्दा पनि कुनै चिन्ता नगरेर नेपाल क्रिकेट सङ्घमा जुँगाको लडाइँ भइरहेको छ । पदाधिकारीहरूले थोरै नैतिकता देखाएर मार्गप्रशस्त गर्ने आँटसमेत देखाएका छैनन् । उनीहरू त्यस्तो गर्दैनन् किनभने उनीहरू नेपाली क्रिकेटका लागि होइन, आफ्नो क्रिकेट राजनीतिका लागि त्यहाँ छन् ।
भनिन्छ, कालो बादलको टुक्रामा पनि चाँदीको घेरा हुन्छ । भर्खरै साधारणसभाबाट विधान पारित भएको छ । आउने दिनमा नेपाल क्रिकेट सङ्घ स्थापित हुनेछ । र, पहिलेकै जस्तो महिला क्रिकेटको पुनःउत्थान हुनेछ भन्ने आशा गर्न भने छाड्नु हुन्न ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)