ट्याक्टर चालकलाई अभद्र व्यवहारमा कारबाही
नेपालगञ्ज – बाँके प्रहरीले पूर्जी बिना बालुवा, ग्राभेल बोकेर ल्याउदै गरेको नौ वटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
राप्ती नदीबाट बालुवा, ग्राभेल बोकेर आउँदै गरेका नौ वटा ट्याक्टरलाई रोकेर सोधपुछ गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । नौ वटा ट्याक्टरमा १३ जना व्यक्ति थिए । प्रहरीले उनीहरुलाई अभद्र व्यवहार कसुरमा कारबाही प्रक्रिया अघि बढाएको छ ।
बालुवा, ग्राभेलसहित ट्याक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ । असार १ गतेदेखि बालुवा, ग्राभेल निकाल्न प्रतिबन्ध लागेको छ । हिजोसम्मको कुरा गर्दा तोकिएको ठाउँबाट ल्याउन सकिन्थ्यो, त्यसका लागि पूर्जी लिएर हिड्नु पथ्र्यो । प्रहरीका अनुसार, पक्राउ गरिएका यी नौ वटा ट्याक्टर चालकसँग पूर्जी थिएन ।