क्वारेन्टाइन भरिभराउ, आइसोलेसन सेन्टर खाली

नेपालगञ्ज – बाँकेमा १३ वटा आइसोलेसन सेन्टर छन् । एउटा आइसोलेसन अस्पताल छ । १३ वटामध्ये चार वटा आइसोलेसन सेन्टर खाली छ ।
आइसोलेसन सेन्टरमा ३ सय ६३ बेड छन् । अहिले कोरोना संक्रमित एक सय २१ जना छन् । त्यसमा ६ जना महिला छन् । एक सय १५ जना पुरुष ।
खजुराको क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा २२ जना उपचाररत छन् । आइसोलेसन सेन्टर जोगागाउँमा ४१ जना, आइसोलेसन सेन्टर आदर्शनगर, नेपालगञ्जमा १३ जनाबाहेक सबै सेन्टरमा दश जना भन्दा कम बिरामी छन् ।
यो आइसोलेसन सेन्टरको कुरा भयो । जिल्लामा क्वारेन्टाइन एक सय आठ वटा छन् । क्वारेन्टाइनमा बेड संख्या ५ हजार ९ सय ८२ वटा छ । अहिले क्वारेन्टाइनमा दुई हजार सात सय ३० जना छन् । ४ सय १९ महिला छन् ।
क्वारेन्टाइनमा ठूलो भीड हुँदा आइसोलेसन सेन्टरमा किन कमी ? फेरि कुरा आउला, बिरामी नभएकोलाई पनि आइसोलेसन सेन्टरमा राख्ने हो र ? कुरा त्यसो होइन, क्वारेन्टाइनमा रहेका व्यक्तिलाई समयमा पीसीआर जाँच हुन सकेन भन्ने हो । आइसोलेसन सेन्टरमा बसेकाहरु १४ दिनपछि रिचेक नै नगरी घर पठाइरहदा क्वारेन्टाइनमा बसेका व्यक्तिलाई पनि छिटो पीसीआर जाँच हुनु प¥यो ।
अहिले पालिकाहरुले नै पीसीआर जाँचका लागि स्याम्पल लिने गरेका छन्, स्वास्थ्य कार्यालयले समन्वयमा । क्वारेन्टाइनमा रहेका व्यक्तिको छिटो पीसीआर हुन सके कि त आइसोलेसन सेन्टरमा आउँछन् कि घर जान्छन् । उनीहरुलाई धेरै दिनसम्म क्वारेन्टाइनमा किन राखिरहने ?
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा चाप रहेपनि पीसीआर जाँच दु्रतगतिमा भइरहेको बताउनुभयो ।
बाँकेमा अहिलेसम्म ५ हजार १ सय ३३ जनाको पीसीआर जाँचका लागि स्याम्पल कलेक्सन भएको छ । त्यसमा ३ सय १७ जनामा पोजिटिभ रिपोर्ट आएको छ । ६ हजार १ सय १६ जनाको आरडीटी जाँच भएको छ । दुई सय दुई जना डिस्चार्ज भएर घर गएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !