फोरलेनमा झ्याप्प ब्रेक
नेपालगञ्ज – मोटरसाइकल आयो, छेउबाटै गयो । अटोरिक्सा आयो किनारा नै लाग्यो । मालवाहक ट्रक आयो, तर्केर नै अगाडि बढ्यो ।
ओ हो ! फोरलेन सडकमा त गाडीहरु मज्जाले हुँइकिनु पर्ने । यहाँ त सबै तर्केर गुडिरहेका छन् । भएको के हो त भन्ने तपाईलाई जिज्ञासा लाग्न सक्छ । फेरि कोरोनाको कहरको बेला बाटोको कुरा गर्छ भन्ने पनि लाग्न सक्छ ।
यो सानो र मजाकको कुरा होइन, फोरलेन सडकमा गाडी तर्केर हिड्नु पर्ने ? सम्बन्धित निकायको लापरबाहीले गर्दा जनताले सास्ती खेप्नु पर्ने ? नियमन गर्ने निकायले के हेरिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, सडक विभागले किन देखिरहेका छैनन् कि फोरलेन सडकमा किनाराबाट गाडी गुडिरहेका छन् ।
कुरा हो, कर्णाली विकास बैंक अगाडिको सडकको । यो ठाउँमा खानेपानीको पाइप फुटेर दुई÷तीन पटक फोरलेन सडक खनिएको छ । ल ठिकै छ, पाइप फुट्यो, सडक खनियो । पाइप जडान पनि भयो । त्यसपछि त बाटो जस्ताको तस्तै गराउनु पर्छ । बाटो सम्म नगराउदा अहिले त्यहाँनेर पुगेपछि बीच सडक छोडेर किनारबाट हिड्नु पर्ने बाध्यता भएको छ । एउटा गतिमा आइरहेका सवारी साधन त्यो घन्च्याङ–घुन्चुकमा जादा त दुर्घटना नै हुने डर छ ।
फोरलेन सडकको मापदण्ड के हो ? कस्तो हुुनुपर्छ । कतिसम्म त हुनैपर्छ भन्ने केही हुँदैन र ? मेयर सा‘पको त्यो निलो फुच्चे गाडी त औसत गतिमै त्यहाँनिर सिधा लग्यो भने दुर्घटनामा पर्छ, पर्छ । पक्कै पनि उहाँले त्यहाँनिर पुग्दा तर्काएर हिड्नु हुन्छ । त्यहीबाटो धेरै पटक ओहोरदोहोर गर्ने जनप्रतिनिधिले किन अहिलेसम्म त्यो बाटो नदेखेको ?
स्थानीयवासी वरिष्ठ पत्रकार पूर्णलाल चुके भन्नुहुन्छ, ‘दुई÷तीन पटक त्यहाँ दुर्घटना भइसक्यो । एकपटक त एकजना महिला स्कूटीसहित पल्टिनु भयो । त्यहीबेलामा त्यहाँ आइपुगेको प्रहरीले उद्दार गरेर लग्यो ।‘
आफ्नै गतिमा आइरहने सवारी साधन एक्कासी खबड–खुबड ठाउँमा आइपुग्दा दुर्घटना हुने गरेको छ । किनभने बिग्रेको बाटोमा त्यहाँनिर पुग्दा ब्यालेन्स बिग्रिन्छ ।
यो बाटो यस्तो हुनुमा गल्ती कसको ? पक्कै खानेपानी कार्यालयको हुन सक्छ । उसले राम्रो सडक फुटाएर पाइप बनाएपछि सडकको लेबल उस्तै बनाइदिनु पथ्र्यो । होइन, सडक विभागअन्तर्गतको सडक हो भने उसले आएर मर्मत गर्नुपर्छ । त्यसो हो भने स्थानीय सरकारको काम के त ? उसका पनि केही दायित्व हुन्छन् होला, आफ्नो एरियामा । मर्मतसम्म गर्न सक्नु पर्ने हो ।
सडक बन्दा खानेपानी कार्यालयसँग समन्वय हुन नसकेको त देखिन्छ नै । किनभने, सडक बन्दा उसले पाइपमा के कति क्षति पुग्यो हेर्नु पथ्र्यो । पुरानो पाइप छ भने त्यहीबेला चेन्ज गर्नुपथ्र्यो । कुरा कर्णाली विकास बैंक अगाडिमात्रै होइन, सडक खनेर पाइप मिलाएको त वीपीचोकदेखि धम्बोझीसम्म नै एक दर्जन ठाउँ होलान् । फोरलेन सडकको बीचमा रुखको हाँगा गाडेर सडक मर्मत गरेको त नगरवासीले देखेकै हुन् । अन्यत्रको अलि राम्ररी टालटुल भएको देखिन्छ । कर्णाली विकास बैंक अगाडि दुवैतिर सडक उस्तै बिग्रेको छ । त्यो सडकको अवस्थाले गर्दा दुर्घटना भइहाल्यो भने त्यसको जिम्मा कसले लिनुपर्ला ? कम्तीमा त्यो चाहि तय गर्नुपर्ने बेला आएको छ है ।